बालिका जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई सिनपा १ ले कोसेली प्रदान गर्ने

रुपन्देही खबर , २६८  पटक हेरिएको

भैरहवा, फागुन २५

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ ले बालिका जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई ‘कोशेली’ प्रदान गर्ने भएको छ । बालिका जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न यो कार्यक्रम सुरु गरिने वडाअध्यक्ष उज्जवल पोखरेलले बताउनु भएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ मा जन्मिने छोरी बालिकाका परिवारले ३५ दिनभित्रै जन्मदर्ता गराएपछि सम्बन्धित परिवारको घरमा पुगेर कोशेली प्रदान गर्ने वडाध्यक्ष पोखरेलले बताउनु भयो । उहाले यसले समयमै व्यक्तिगत घटना दर्ता गराउन प्रोत्साहन गर्ने बताउनु भएको छ । समयमै घटना दर्ता नगर्दा भविष्यमा विभिन्न किसिमका समस्याहरु आइपर्ने कुरालाई मध्यनजर गर्दै यो कार्यक्रम संचालन गरिएको पोखरेलले बताउनु भएको छ ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ कार्यालयले गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गर्दै आएको छ । वडाअध्यक्ष पोखरेलका अनुसार प्रत्येक तीन महिनाको अन्तरालमा वडा कार्यालयले पौष्टिक आहार वितरण गर्दै आएको र यसलाई निरन्तरता दिदै जाने बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-०३-०८ , समय : १४:१८:२१ , १ महिना अगाडि