रुपन्देही खबर , ३८ पटक हेरिएको
भैरहवा, कार्तिक १७
सिद्धार्थनगर नगरपालिकासहित देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान सुरु भएको छ । अभियानको सिद्धार्थनगरमा शुभारम्भ गर्दै नगरप्रमुख इश्तियाक अहमद खाँले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गर्नुभएको छ ।
मंगलबार आयोजित कार्यक्रममार्फत अभियानको शुभारम्भ गर्दै नगरप्रमुख खाँले बालबालिकाको स्वास्थ्य, पोषण तथा शारीरिक विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बालबालिकालाई भिटामिन ‘ए’ को कमीबाट जोगाउन र जुकाको संक्रमण नियन्त्रण गर्न सरकारले सञ्चालन गरेको अभियानमा सबै अभिभावकको सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नगरप्रमुख खाँले आफ्ना बालबालिकालाई औषधि खुवाउन नजिकैको वडा कार्यालय, स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गर्न आग्रह गर्नुभयो । लक्षित उमेर समूहका कुनै पनि बालबालिका अभियानबाट छुट्न नहुनेमा जोड दिँदै उहाँले बालबालिकाको स्वास्थ्यप्रति अभिभावकलाई जिम्मेवार बन्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख उमा अधिकारीले बालबालिकाको स्वास्थ्य र पोषण सुधारका लागि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बालबालिकालाई सानै उमेरदेखि स्वास्थ्यप्रति सचेत बनाउनुका साथै नियमित स्वास्थ्य परीक्षण र पोषणयुक्त खानपानमा अभिभावकले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उपप्रमुख अधिकारीले अभियानको उद्देश्य सफल बनाउन सबै अभिभावकले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गर्नुभयो । उहाँले कुनै पनि बालबालिका स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने उल्लेख गर्दै अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अभिभावकबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
अभियानअन्तर्गत दुई दिनसम्म ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । त्यस्तै, १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि प्रदान गरिनेछ ।
भिटामिन ‘ए’ को कमीबाट हुने स्वास्थ्य समस्याको जोखिम न्यूनीकरण गर्नुका साथै जुकाको संक्रमण नियन्त्रण गरी बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्था सुधार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
नगरपालिकाले लक्षित उमेर समूहका बालबालिकालाई तोकिएको समयभित्र नजिकैको स्वास्थ्य संस्था, वडा कार्यालय वा अभियान सञ्चालन हुने केन्द्रमा पुर्याई औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: २०२६-११-०३ , समय : १९:४६:५९ , २ घन्टा अगाडि