नेपालगंज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन

रुपन्देही खबर , ४१९  पटक हेरिएको

भैरहवा, बैशाख १९

लर्डबुद्ध एजुकेशनल एकेडमी लिमिटेड अन्तर्गत नेपालगंज मेडिकल कलेजको अध्यक्षमा युवा व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्याल चयन हुनु भएको छ । आज बसेको संचालक समितिको बैठकले सर्वसम्मति रुपमा अर्यालको नेतृत्वमा नौ सदस्सीय नयाँ कार्य समिति चयन गरेको हो । लामो समय देखि मेडिकल शिक्षामा समर्पित अध्यक्ष अर्यालले नेपालगंज मेडिकल कलेजलाई समयानुकुल भोलिका दिनमा स्वास्थ्य सेवामा अत्याधुनिक प्रविधिका साथ सर्वसुलभ तथा गुणस्तरिय सेवा र अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा कलेज प्रतिवद्ध रहने बताउनुभएको छ ।

नयाँ संचालक समितिमा लोकहर्ष शाक्य, अजय गुप्ता, सन्दिप अग्रवाल, सन्तोष कुमार खनाल, डा.सुरेश कुमार कनोडिया, सन्तोष कनोडिया, दिनेश श्रेष्ठ र अनिज श्रेष्ठ रहनु भएको छ भने कलेजको प्रमुख कार्यकारी अधिकृतको रुपमा सन्तोष कुमार वि.एनलाई अनुमोदन गरेको छ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित यस कलेज वि.सं. २०५३ सालमा स्थापना भएको हो । यस कलेज अन्तर्गत नेपालगंजमा ७५० शैयाको अस्पताल र कोहलपुरमा २५० शैयाको अस्पताल रहेको छ भने शैक्षिक कार्यक्रम चिसापानीमा सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति: २०२४-०५-०१ , समय : १९:२९:५८ , ५ महिना अगाडि