रुपन्देही खबर , ३७ पटक हेरिएको
भैरहवा, कार्तिक १८
रुपन्देहीको मर्चवार क्षेत्रमा आजदेखि तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको आयोजनामा कोटहीमाई गाउँपालिका–५, मझगावाँस्थित मर्चवार आदर्श बहुमुखी क्याम्पसमा सञ्चालन हुने शिविरमा तीन स्थानीय तहका करिब दुई हजार सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।
कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाका ग्रामीण तथा आर्थिक रूपमा विपन्न नागरिकलाई लक्षित गरी आयोजना गरिएको शिविरमा विभिन्न रोगको परीक्षण, उपचार तथा विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ । आयोजकले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी शिविर सञ्चालनको तयारीबारे जानकारी दिएको हो ।

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष गंगाधर भण्डारीका अनुसार यस वर्षको शिविरमा आँखाको उपचारसँगै क्यान्सर पहिचान, महिला स्वास्थ्य, नाक, कान तथा घाँटीसम्बन्धी समस्या र अन्य रोगको परीक्षण तथा उपचारलाई प्राथमिकता दिइएको छ ।
शिविरमा आँखाको परीक्षण, मोतियाबिन्दुको पहिचान तथा आवश्यकताअनुसार निःशुल्क शल्यक्रिया, जनरल फिजिसियनबाट स्वास्थ्य परीक्षण तथा परामर्श र नाक, कान तथा घाँटीसम्बन्धी परीक्षण गरिनेछ । महिलाका लागि पाठेघर तथा स्तन क्यान्सरको पहिचान, पाठेघरसम्बन्धी समस्याको उपचार र आवश्यकताअनुसार निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
शिविरमा उपचार सम्भव नभई थप विशेषज्ञ सेवा आवश्यक पर्ने महिलाका लागि बुटवलस्थित आम्दा अस्पतालमा थप उपचारको व्यवस्था मिलाइएको क्लबका पूर्वअध्यक्ष कृष्णप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
त्यसैगरी महिलालाई चार सय थान पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड वितरण गरिनेछ भने अशक्त तथा अपांगता भएका व्यक्तिलाई ह्विलचेयर उपलब्ध गराइने आयोजकले जनाएको छ ।
शिविरमा काठमाडौं, बुटवल, चितवन र भैरहवालगायतका स्थानबाट विभिन्न विधाका करिब ६० जना विशेषज्ञ चिकित्सक सहभागी हुनेछन् । उनीहरूले बिरामीको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यकताअनुसार उपचार सेवा प्रदान गर्नेछन् ।
शिविर सञ्चालनका लागि रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी ई–क्लब अफ मेडिको फ्युजनले सहकार्य गरेका छन् । क्यानडाको पिटरबरो रोटरी क्लब, आईसीओ फाउण्डेशन क्यानडा, पार्टनर्स इन पोजिबिलिटी फाउण्डेशन, स्नो लेपर्ड इन्टरनेशनल मेडिसिन र ग्लासवाटर फाउण्डेशनलगायतका संस्थाले सहयोग तथा समन्वय गरेका छन् ।
त्यस्तै, काठमाडौंस्थित मातृका आँखा उपचार केन्द्र, बुटवलको आम्दा अस्पताल, भरतपुर क्यान्सर अस्पताल र भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्राविधिक सहयोग गर्नेछन् ।
आयोजकका अनुसार शिविर सञ्चालनका लागि करिब एक करोडदेखि सवा करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । क्लबका निवर्तमान अध्यक्ष विष्णु शर्मा आचार्यले आर्थिक रूपमा कमजोर नागरिकलाई उनीहरूकै घरआँगनमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने र समयमै रोगको पहिचान तथा उपचारमा सहयोग गर्ने अभियानको लक्ष्य रहेको छ ।
प्रकाशित मिति: २०२६-११-०४ , समय : ०९:०८:५९ , ६० मिनेटutes अगाडि