बेलहियाबाट भैरहवामा लागु औषध सप्लाई गर्ने महिला पक्राउ

रुपन्देही खबर , ४७९  पटक हेरिएको

भैरहवा, जेठ १

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा लागु औषध सप्लाई गर्ने गोदाम पत्ता लगाउनुका साथै यसमा संलग्न एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नं. १ बस्ने २६ वर्षिया मञ्जु गुप्ता रहेकी छन् ।

नेपाल भारत सीमा बेलहियाबाट पक्राउ परेकि गुप्ताको घरबाटै लागु औषध भण्डारण गर्ने र सप्लाई हुने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लागु औषधको कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गुप्ता बस्दै आएको घर कोठामा पुगेको इलाका प्रहरी कार्यालय बेलहियाको प्रहरी टोलीले गुप्ताको शरिर तथा उनी बस्दै आएकी घर कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा ठुलो परिमाणमा नेपालमा प्रतिबन्धित औषधी तथा चरेस फेला पारेको छ ।

प्रहरीले गुप्ताको घर कोठाबाट चरेस १ के.जि ७५० ग्राम, फेनारागन -१४१ एम्पुल, आईपीपीएल -१३६ एम्पुल, डाईजोपाम (सिरिजेक) -१४१ एम्पुल, स्पास्मो-१७० क्याप्सुल तथा कोरेक्स २ बोतल बरामद गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले बताउनु भएको छ । पक्राउ परेकी गुप्ता माथि आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-०५-१५ , समय : ०१:०७:३२ , २ हप्ता अगाडि