रुपन्देहीमा जेठ १३ गतेदेखि पोलियोविरुद्धको ‘आईपीभी’ खोप अभियान संचालन हुने

रुपन्देही खबर , १७६  पटक हेरिएको

भैरहवा, जेठ ५

रुपन्देहीमा जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत करिब ७० हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार दुई चरणमा सञ्चालन हुने खोप अभियान अन्तर्गत जिल्लाका ६९ हजार ७ सय ६३ जना बालबालिकालाई आईपीभी खोप लगाइनेछ । २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका ती बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो । रुपन्देहीमा जेठ १३ देखि २३ गतेसम्म गरी दुई चरणमा खोप लगाइनेछ । स्वास्थ्य कार्यालयले शुक्रबार भैरहवामा आयोजना गरेको पत्रकार अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा खोप लगाउन रुपन्देहीमा ८५६ वटा खोप केन्द्र निर्धारण गरिएको जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जेठको १३ देखि १६ गतेसम्म प्रथम चरणमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी साँस्कृतिक, तिलोत्तमा, देवदह, ओमसतिया गाउँपालिका, रोहिणी, शुद्धोधन र सियारी गाउँपालिकामा खोप लगाइने बताउनु भएको छ । सैनामैना नगरपालिकामा जेठ १४ देखि १७ गतेसम्म खोप लगाइने बताउनु भयो ।

त्यस्तै जेठ २० देखि २३ गतेसम्मको दोस्रो चरणमा गैडहवा, कञ्चन, सम्मरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकामा खोप लगाइने ढकालले जानकारी दिनु भएको छ । उहाले ‘पोलियोविरुद्ध २०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिएको भए पनि विभिन्न कारणले २०७३ जेठदेखि २०७५ भदौसम्म बालबालिका खोप लगाउन छुटेको बताउदै सबै बालबालिकालाई खोप लगाउनु पर्ने उल्लेख गर्नु भयो । उहाले छुटेका बालबालिकाहरुलाई यसपटक खोप लगाउन सरकारले अभियान नै सञ्चालन गरेको जानकारी दिनु भएको छ ।
खोप अभियानका लागि जिल्लास्तरको अभिमुखीकरण सकिएको र पालिकास्तरमा तालिम सञ्चालन भइरहेको उहाले बताउनु भएको छ ।

नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र ९ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । सबैभन्दा बढी ५ वर्षसम्मका बालबालिका पोलियो भाइरसबाट संक्रमित हुन सक्ने भएकाले अनिवार्य रुपमा पोलियोविरुद्धको खोप लगाउन उहाले आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति: २०२४-०५-१८ , समय : १०:३४:५५ , १ महिना अगाडि