नेपाली कांग्रेस क्षेत्र नं.३ रुपन्देहीको बैठक स्याङ्गजाको सिरुबारीमा सम्पन्न

रुपन्देही खबर , २१२  पटक हेरिएको

भैरहवा, जेठ ८

नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीको ‘नियमित बैठक तथा अवलोकन भ्रमण कार्यक्रम’ स्याङ्गजाको आँधीखोला गाउँपालिका वडा नं. १ मा अवस्थित दक्षिण एसिया कै पहिलो होमस्टे ‘सिरुबारी सामुदायिक होमस्टे’ मा सम्पन्न भएको छ । नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति सुशील गुरुङ्गले आन्तरिक पर्यटनलाई प्रवर्द्धन तथा गुरुङ्ग संस्कृतिको अध्ययन, अवलोकन गर्नुका साथै नयाँ ठाउँ र नयाँ परिवेशमा पार्टीलाई आन्तरिक रुपमा संगठनलाई सुध्रिकरण गर्ने, संगठन निर्माण तथा पार्टीमा आम कार्यकर्ताको मनोबल र आत्मविश्वासको अभिवृद्धि गर्ने उद्धेश्य रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्र नं ३ को १८औं नियमित वैठकको सभापतित्व क्षेत्रीय सभापति सुशील गुरुङ्गले गर्नुभएको थियो भने वैठकमा कुल २१ जना पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । क्षेत्रीय सचिव लेखनाथ भट्टराईले संचालन तथा अर्का सचिव भवानी शर्माले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
सिरुबारी सामुदायिक होमस्टेको विकाश, विस्तार तथा निरन्तरताका लागि क्षेत्रीय समिति परिवारका तर्फबाट नगद रु.५ हजार ,१ सय ५ रुपियाँ सहयोग स्वरुप होमस्टे व्यवस्थापन समितिका सचिव सुनिता गुरुङ्गलाई हस्तान्तरण गरिएको थियो । साथै बैठकले २०७४ सालको प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवार ओम कुमार श्रेष्ठ, निजका प्रस्तावक नारायण बहादुर कार्की र समर्थक रहेका राजेश जि.सि.ले पछिल्लो समयमा सम्पन्न स्थानिय निर्वाचन लगायत संघिय एवं प्रदेशसभा निर्वाचनमा पार्टीले प्रस्तुत गरेका उम्मेदवारहरुलाई विजय बनाउन गरेको साथ–सहयोगको मुल्याङ्कन गर्दै निजहरुलाई गरिएको अनुशासनको कारवाही फुकुवा र क्रियाशिल नविकरण गर्न माथिल्लो निकायमा सिफारिश गर्ने निर्णय समेत गरिएको छ ।

प्रकाशित मिति: २०२४-०५-२१ , समय : ०४:५२:३० , ७ महिना अगाडि