राममणी बहुुमुखी क्याम्पसमा गजल प्रशिक्षण तथा वाचन सम्पन्न

रुपन्देही खबर , १५६  पटक हेरिएको

मणिग्राम, जेठ २०

रूपन्देहीको मणिग्रामस्थित राममणी बहुुमुखी क्याम्पसमा गजल प्रशिक्षण तथा वाचन कार्यक्रम आइतबार सम्पन्न भएको छ । क्याम्पसको अँग्रेजी तथा नेपाली भाषा साहित्य विभाग संयोजक गोपाल पन्थीको अध्यक्षतामा भएको कार्यक्रमबीच नेपाली भाषा साहित्यका प्राज्ञ एवम विख्यात गजलकार बुँद रानाले लेखनको प्रशिक्षण सहित गजल वाचन र गायन गर्नुभएको थियो । सोही कार्यक्रममा शिक्षासेवी एवम् साहित्यकार सोनु सुनकुमारी गुरूङ्ले हाइकुबारे जानकारी दिँदै वाचन गर्नुभएको थियो ।

सो अवसरमा गजलकार रानाले गजल लेखनका सुत्र, शैली, विन्यास र तिनका मर्मबारे एक–एक गरी उदाहरण सहित सहभागीलाई प्रशिक्षित गर्नुभएको थियो । विभागका सदस्य कविता पन्थीको सञ्चालनमा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीमा बहुआयामिक विकाशका लागि क्याम्पसले विविध कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा प्राध्यापकहरू गोपाल पन्थी, माया घिमिरे, मुक्तिनाथ गैह्रे, विन्दु आचार्य, कविता पन्थी विद्यार्थीहरू वन्दना न्यौपाने, साक्षी तिवारी, मनिष कण्डेल, तुल्सीराम भण्डारी लगायतले गजल तथा आफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा पूर्व क्याम्पस प्रमुख मोहनराज शर्मा प्राध्यापक भिमलाल घिमिरे लगायतले बोल्दै विद्यार्थीमा साहित्यिक चेतका लागि कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: २०२४-०६-०२ , समय : १९:३३:०८ , ३ हप्ता अगाडि