टी-२० विश्वकपः आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै भारतको विजयी सुरूवात

रुपन्देही खबर , १८४  पटक हेरिएको

भैरहवा, जेठ २३

आइसिसी टी-२० विश्वकपमा भारतले विजयी सुरूवात गरेको छ। बुधबार न्युयोर्कमा आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै भारतले विश्वकपमा सुखद सुरूवात गरेको हो। आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट मात्रै गुमाएर पूरा गरेको हो। भारतको सहज जितमा कप्तान रोहित शर्माले अर्धशतक प्रहार गरे। उनी ३७ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाएपछि चोटका कारण बाहिरिएका थिए। रिसव पन्तले नट आउट ३६ रन बनाए। उनले २६ बलमा ३ चौका र २ छक्का प्रहार गरे।विराट कोहली एक रन र सूर्यकुमार यादव २ रनमा आउट भए। बलिङतर्फ आयरल्याण्डका मार्क एदेर र बेन ह्वाइटले एक/एक विकेट लिए।पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा अल आउट हुँदै ९६ रनमा समेटिएको थियो।

आयरल्याण्डका लागि ग्यारेथ डेलानीले बनाएको २६ रन सर्वाधिक रह्यो। जोश लिटलले १४, कर्टिश क्याम्परले १२ र लोर्कन टकरले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। आयरल्याण्डलाई सस्तोमा समेट्न हार्दिक पाण्ड्याले ३ विकेट लिए। अर्शदीप सिंह र जसप्रित बुमराहले २/२ तथा मोहम्मद सिराज र अक्षर पटेलले १/१ विकेट लिए। जारी विश्वकपमा भारत समूह ए मा छ। उक्त समूहमा अमेरिका, क्यानडा, आयरल्याण्ड र पाकिस्तान छन्।

प्रकाशित मिति: २०२४-०६-०५ , समय : २३:५१:०९ , ३ हप्ता अगाडि