जगी लाल थापा , २८ पटक हेरिएको
बुटवल, साउन १९
आफ्नो कथा आफै लेखौं भन्ने नारा सहित रुपन्देहीमा प्रथम मगर साहित्य महोत्सव हुने भएको छ । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर २१ र २२ गते रुपन्देहीमा सो महोत्सव हुन लागेको हो।
शनिवार बुटवमा मगर अगुवा, लेखक, बुद्धजिवी, स्वास्थ्यकर्मी, मगर संघ सम्बद्ध केन्द्रिय तथा प्रदेश र जिल्लास्तरका पदाधिकारी र अध्येताहरुबिच बुटवलमा एक कार्यक्रमको आयोजनागरी महोत्सवबारे जानकारी गराइएको हो। महोत्सवमा मगर भाषाका कविता प्रतियोगिता, विभिन्न विषयमा बहस, मगर अग्रजहरुको चित्रकला प्रदर्शनी, सांस्कृति ¥याली, पुस्तक पर्दशनी, कृति बिमोचन र मगर भाषाका आदीकवी जित बहादुर सिंजाली मगर साहित्य पुरस्कार घोषणा र गोरे बहादुर खपाङ्गी सामाजिक योगदान पुरस्कारको घोषणा कार्यक्रम समेत गरिने भएको छ ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष दल बहादुर बिरकट्टाले सम्मेलन मगर समुदायको वारेमा रहेका भ्रमहरु हटाउन महोत्सव फलदायी हुने चर्चा गर्नुभयो । अन्य भाषा साहित्य सम्बन्धी महोत्सव तथा सम्मेलन संचालन हुदै आएको भएपनि मगरजातीको आफ्नै भाषा, साहित्य र कलाको उन्नयनका लागि पहिलो पटक मगर साहित्य महोत्सव हुन आफैमा गर्विलो चुनौतीको बिषय भएको विरकट्टाले उल्लेख गर्नु भयो। महोत्सव पछि मगर जातीका लेखक, अन्वेषक, चिकित्सक, इतिहासविद, राजनीतिज्ञ, कलाकार तथा बिभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरुले आफ्नो समुदायको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनमा कलम चलाउने उत्प्रेरणा जगाउने विरकट्टाले बिश्वास व्यक्त गर्नु भयो।
मगर समुदायको सांस्कृतिक पुर्नउत्थान, बौद्धिक क्षेत्रमा सहभागिता, साहित्यक सिर्जनामा जोड दिने उद्धेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष निर्मला थापा मगरले बताउनुभयो । आफ्नो इतिहास आफै लेख्नु पर्छ र आफ्नो बारेमा लेख्न पनि भाषा, सिप र बिषयबस्तुको ज्ञान आवस्यक पर्ने भएकोले महोत्सव संचालन पछि हामी भित्र रहेको कला, प्रतिभा र कमजोरीहरु समेत थाहा पाउन पनि अनेक चुनौती हुँदाहुँदै पनि हिम्मतका साथ महोत्सवको आयोजना गरिएको अध्यक्ष थापा मगरले बताउनु भयो।
आयोजक समिति सदस्य जेबी दर्लामीको संचालनमा भएको कार्यक्रममा प्रचार संयोजक यम रानाले पहिलो मगर साहित्य सम्मेलनबारे प्रस्तावना तथा अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो। मगर साहित्य महोत्सवलाई भब्य र सभ्यमा सम्पन्न गर्नका लागि नेपाल मगर महिला संघ, रुपन्देहीका अध्यक्ष निर्मला थापा मगरको संयोजकत्वमा बिभिन्न क्षेत्रमा संलग्न मगर अगुवाहरु सम्मिलित ४५ सदस्यिय महोेत्सव संचालन मूल आयोजक समिति गठन गरिएको छ।
प्रकाशित मिति: २०२४-०८-०३ , समय : २०:२१:४३ , १ महिना अगाडि