नेशनल प्याब्सन रुपन्देहीद्वारा तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

बालबालिकाहरुलाई योग ध्यानका माध्यमबाट संस्कार सिकाउनु पर्नेमा जोड

रुपन्देही खबर , १९६  पटक हेरिएको

बुटवल, जेठ ११

बालबालिकाहरुलाई योग ध्यानका माध्यमबाट संस्कार सिकाउनु पर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन। उनीहरुले विद्यालयलाई सही तरिकाले सञ्चालन गर्न के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ भन्दै अहिलेका बालबालिकाहरुका लागि योग ध्यानका माध्यमबाट संस्कार सिकाउनु पर्ने जोड दिएका हुन । नेशनल प्याब्सन रुपन्देहीले शनिबार तिलोत्तमाको कोटिहवामा आयोजना गरेको बिद्यालयका प्रधानाध्यापकहरुका लागि एक दिने तनाव व्यवस्थापन सम्बन्धी तालिममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका छन ।

तालिममा बोल्दै नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेले प्रविधिमैत्री आधुनिक जीवनशैली अपनाउने मानिसहरुमा तनावको समस्या देखिने गरेको भन्दै यस विषयमा सचेतना जगाउने उद्देश्यका साथ प्याब्सनमा आबद्ध प्राचार्यहरुको लागी तालिम गरिएको बताउनु भएको छ । उहाले आधुनिक जीवनशैलीलाई थोरै भए पनि परिवर्तन गर्न सके यसबाट मानिसमा आइरहेको धेरै किसिमका मानसिक समस्या कम हुने दावी गर्दै सिकेका कुराहरु बिद्यालयमा लागु गर्न समेत आग्रह गर्नु भएको छ ।

यस्तै गरी तालिमको सहजीकरण गर्नु हुदै ख्यातिप्राप्त मोटिभेसनल प्रशिक्षक विदुर फुँयालले तनावका हुनुका कारण, यसको पहिचान र तनावकै कारण बिद्यालय, अभिभावक, संघ संस्था, परिवार र समाजमा हुने क्षतीलाई रोक्नका लागि यसको व्यवस्थापनका विषयमा बारेमा व्यवहारिक तरिकाले प्रशिक्षण दिनुभएको थियो । उहाँले विद्यालयलाई सही तरिकाले सञ्चालन गर्न के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ भन्दै अहिलेका बालबालिकाहरुका लागि योग ध्यानका माध्यमबाट संस्कार सिकाउन जरुरी भएको विचार व्यक्त गर्नुभएको थियो । तालिममा रुपन्देही जिल्लाका नेशनल प्याब्सनमा आबद्ध प्राचार्यहरुको सहभागिता रहेको थियो ।

शनिबार प्रशिक्षणसँगै नेशनल प्याब्सन रुपन्देहीको पूर्ण बैठक समेत सम्पन्न भएको छ । जिल्ला अध्यक्ष बाबुराम बन्जाडेको अध्यक्षतामा सम्पन्न बैठकमा नेशनल प्याब्सनका केन्द्रीय सल्लाहकार राजु गुरुङ, केन्द्रीय महासचिव विष्णु पौडेल, केन्द्रीय सचिव बालाकृष्ण तिवारी, केन्द्रीय सदस्य पुरुषोत्तम बस्याल र बिल गुरुङ, सचिव अमित यादव लगायतले बोल्दै निजी क्षेत्रबाट राष्ट्रको शैक्षिक विकासमा नेशनल प्याब्सन सदैव लागिपरेको बताउँदै अब पनि आइपरेका चुनौतीहरुको सामना गर्दै शैक्षिक विकासमा उत्साहका साथ लाग्नुपर्ने बताउनुभएको थियो ।

बैठकले असार ६ गते जिल्लास्तरीय चित्रकला र कविता लेखन तथा वाचन प्रतियोगिता लुम्बिनीमा गर्ने निर्णय गरेको छ । साथै बैठकले शिक्षकहरुका लागि विषयगत प्रशिक्षण तथा प्राचार्यहरुका लागि अध्ययन अवलोकन भ्रमण समेत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: २०२५-०५-२५ , समय : १८:३५:०९ , १ हप्ता अगाडि