पप्पु रेग्मी , १५१ पटक हेरिएको

बर्दघाट, जेठ १६
गणतन्त्र दिवसको अवसर पारेर बर्दघाट नगरपालिकाले आफ्नै नगर गान औपचारिक रूपमा सार्वजनिक गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत १ मिनेट १५ सेकेन्ड लामो अडियोसहितको नगर गान नगरपालिकामा सार्वजनिक गरिएको हो। नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा समावेश “नगर गीत निर्माण” योजनाअनुसार बर्दघाट प्रज्ञा प्रतिष्ठानमार्फत तयार गरिएको उक्त नगर गानमा बर्दघाट क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको विशेषता समेटिएको छ।
पत्रकार सम्मेलनमा नगर प्रमुख शम्भुलाल श्रेष्ठले अबदेखि नगरभित्र सञ्चालन हुने सबै सार्वजनिक कार्यक्रम तथा विद्यालयहरूमा राष्ट्रगानपछि अनिवार्य रूपमा नगर गान बजाइने जानकारी दिनु भएको छ ।
नगर गानको शब्द डिल्ली राज पाण्डेले लेख्नु भएको हो । भने संगीत नरहरी प्रेमीले दिनु भएको छ। स्वरमा लोचन भट्टराई, नरहरी प्रेमी, आनन्द कार्की, जुनु रिजाल, राजीव शाह, अष्ट लामा, विमला परियार, अपेक्षा खनाल, श्रद्धा दियाली, सुरज गुप्ता, अनिल खनाल, कुमार थापा, जमुना राना, अस्मि रिसाल र खेम बी.क. लगायतका कलाकारहरूको सहभागिता रहेको छ।
नगर गानले बर्दघाट नगरको पहिचान, गौरव र सांस्कृतिक विविधतालाई उजागर गर्ने विश्वास गरिएको छ।
प्रकाशित मिति: २०२५-०५-३० , समय : ०६:३३:५९ , ४ दिन अगाडि