रुपन्देही खबर , ११८ पटक हेरिएको

भैरहवा, जेठ २२
जिल्ला अनुगमन समिति रुपन्देहीले भैरहवामा तरकारी तथा फलफूल पसलको अनुगमन गरेको छ । समितिले बिहीबार सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर ५ स्थित आर.जे. ग्रिन भेजिटेबल एण्ड फ्रुट्स, केजी.एन. फ्रुट एण्ड भेजिटेबल सप्लायर्स, सिद्धार्थनगर–८ स्थित मायादेवी तरकारी तथा फलफूल बजारमा रहेको महताब आलम फ्रुट एण्ड भेजिटेबल सेन्टर र सिद्धार्थनगर–६ स्थित अब्दुल फ्रुट सेन्टरमा अनुगमन गरेको हो ।
त्यस्तै मायादेवी तरकारी तथा फलफूल बजारमा रहेका तरकारी तथा फलफूल पसलको समेत अनुगमन गरिएको थियो । तरकारी, फलफूल तथा खाद्यवस्तुको अनुगमनको क्रममा सडेगलेका तरकारी तथा फलफूल बेच्न राखेको पाइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारीले बताउनुभयो । उहाँले पसलमा मूल्यसूची नराखिएको, व्यवसाय दर्ता प्रमाणपत्र नविकरण नभएको पाइएको जानकारी दिनुभयो । ‘अब्दुल फ्रुट सेन्टरमा सडेगलेको फलफूल भेटियो र गोदामघर असाध्यै दुषित पाइयो । गोदामघर र पसलको सरसफाईमा विशेष ध्यान दिन निर्देशन दिइएको छ, ’उहाँले भन्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाबाट आउनुभएको प्रतिनिधिले फलफूल तथा तरकारी विषादीजन्य हो÷होइन, त्यसको परीक्षणका लागि नमूना संकलन गर्नुभएको जानकारी दिनुभयो । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट आएको रिपोर्टको आधारमा थप काम कारवाही अगाडि बढाइने उहाँको भनाइ छ ।
अनुगमनमा सहायक प्रजिअ भण्डारी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भरत के.सी., खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाकी खाद्य अनुसन्धान अधिकृत ज्योत्स्ना शर्मा अधिकारी, जिल्ला प्रशासन कार्यालयका नारायण पन्थी, मधुकर रायमाझी, पत्रकार लगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: २०२५-०६-०५ , समय : २३:१९:४७ , १ दिन अगाडि