उच्च ज्वरोका बिरामी बढेपछि बुटवलमा लामखुट्टे खोज र नष्ट गर अभियान सुरु

रुपन्देही खबर , ३२१  पटक हेरिएको

बुटवल, साउन २६

लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग (उच्च ज्वरो) का बिरामी बढेपछि बुटवलमा लामखुट्टे खोज र नष्ट गर अभियान सुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाले लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने र बासस्थान सरसफाइ अभियान चलाएको हो ।

पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नहुने र निरन्तर सरसफाइ गर्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले दिउंसोमा टोक्ने लामखुट्टेबाट डेंगु संक्रमण हुने भएकाले शरीरका सबै भाग छोपिने कपडा लगाउन सुझाव दिनु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्ला दिनमा दैनिक १५/१६ जनामा डेंगुको संक्रमण देखिएको अस्पतालका प्रवक्ता डा. नेत्र रानाले बताउनु भएको छ ।

अस्पतालमा आएका बिरामीमध्ये डेंगुको शंका लागेर परीक्षण गराउने ४० देखि ४५ प्रतिशतको रिपोर्ट पोजिटिभ आउने गरेको डा. रानाले बताउनु भयो ।

 

बिरामी बढेपछि जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयमसेविकाको सहभागितामा लामखुट्टे खोज र नष्ट गर अभियान सुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनु भएको छ ।

 

बुटवलमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम उपमहानगरपालिकाले गरिरहेको उहाले बताउनु भयो ।

 

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले वडा नं. १, ५ र ६ मा खोज र नष्ट गर अभियान सञ्चालन भइसकेको र सम्भावित अन्य क्षेत्रमा अभियान सञ्चालनको क्रममा रहेको बताउनु भएको छ

श्रोत अनलाइन खबर

 

प्रकाशित मिति: २०२२-०८-११ , समय : १०:३३:२३ , २ वर्ष अगाडि