बुटवल उपमहानगरको सार्वजनिक सुनुवाइमा सेवा सुधारको प्रतिबद्धता

रुपन्देही खबर , १०४  पटक हेरिएको

बुटवल , असार ३१

बुटवल उपमहानगरपालिकाले सोमबार  आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरका प्रमुख खेलराज पाण्डेले सेवा प्रवाहमा सुधारका लागि उठेका सबै विषयलाई नगर कार्यपालिकामा छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ  । उक्त कार्यक्रममा सडक मर्मत, ट्राफिक व्यवस्थापन, सरसफाइ, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता सेवाहरूमा सुधार आवश्यक रहेको स्पष्ट भएको छ।

नगरप्रमुख पाण्डेले मोतिपुरमा औद्योगिक क्षेत्र र सिमलारमा कृषिजन्य सम्भावनाहरूलाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गर्नु भएको थियो । उहाले  सबै जात, भाषा, धर्म, लिङ र समुदायको हितलाई केन्द्रमा राखेर कार्य गर्दै आएको र अनुपस्थित सरोकारवालालाई मिडियामार्फत जवाफ दिने तयारी रहेको संकेत गर्नु भयो ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले सार्वजनिक सुनुवाइले पालिकाभित्रका कमजोरी पहिचान गर्न सहयोग पुर्‍याउने बताउनु भएको छ । उहाले समस्याको पहिचानले समाधान सजिलो बनाउने भन्दै जनप्रतिनिधि र सेवाग्राहीबीचको सम्बन्ध अझ सुदृढ भई सुशासन र विकासमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय, बुटवलले सहजिकरण गरेको सार्वजनिक सुनुवाइमा इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डीएसपी इन्द्र बहादुर रानाले विभिन्न सामाजीक चुनौतीहरूबारे गम्भीरतापूर्वक प्रश्न उठाउनु भएको थियो। उहाले लागु औषध पदार्थको सेवन देशव्यापी समस्या भएको र अनलाइन ठगीका घटनाहरू बढ्दो क्रममा रहेको जनाउँदै, सचेतनामूलक कार्यक्रम मार्फत यो प्रवृत्ति रोक्न सक्रिय रूपमा पहल गरिरहेको बताउनु भयो ।

साथै, बुटवल आत्महत्याका घटनाहरूमा उल्लेखनीय वृद्धि देखिएको र आत्महत्यासम्बन्धी मुद्दा दर्ता दर उच्च भएको ले उपमहानगरपालिकालाई आत्महत्या न्यूनीकरणका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनु भएको छ ।  उक्त कार्यक्रममा उहाले बुटवललाई सर्वसाधारणका लागि सुरक्षित, जागरुक र समर्थनपूर्ण वातावरण बनाउन प्रहरी–नगरपालिका दुवै पक्षबाट साझा जिम्मेवारी अनुरोध गर्नु भयो ।

सार्वजनिक सुनुवाइमा विभिन्न सरोकारवालाहरूले नगरको विकास र सेवा प्रवाहमा सुधारका लागि महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका छन् । नेपाली कांग्रेसका नगर उपसभापति ज्योती भण्डारीले नगरका गतिविधिहरू बुझ्न र रणनीति बनाउन सार्वजनिक सुनुवाइलाई प्रभावकारी मान्दै, “हामी ठूला सपना देख्छौं, साना आइपर्ने समस्यामा परेर दुखी हुन्छौं,” भन्नु भयो । उहाले  नगरका सकारात्मक कार्यहरूको प्रचार गर्न सुझाव दिँदै, “राम्रो गरेको कुराको प्रचार गर्नुहोस्, काम गर्न ऊर्जा आउँछ,” भन्नु भयो ।

नेकपा एमाले बुटवलका अध्यक्ष सोभाखर पोखरेलले सेवा प्रवाहमा देखिएका समस्यामा गम्भीर सुधार गर्न आवश्यक ठहर गर्दै, “एकपटक सेवा लिन गएकोले फेरि नपरोस्” भन्नुपर्ने अवस्था सिर्जना भएको बताउनु भएको छ । उहाले युवाहरू बाहिर जाने वातावरण निर्माण नगरि, जिम्मेवार नेतृत्व र सार्वजनिक प्रवाहमा पारदर्शिता अपरिहार्य रहेको बताउनु भएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष भेक बहादुर थापाले उजिरसिंह थापाको प्रतिमालाई सम्मानका साथ राख्नुपर्ने र सडक मर्मतमा ध्यान दिनुपर्ने बताउनु भएको छ । उहाले विद्युत् कटौतीका कारण जनतालाई सास्ती भएको उल्लेख गर्दै विद्युत् आपूर्तिमा स्थायित्व कायम गर्न उपमहानगरलगायत सम्बन्धित निकायलाई तिब्र पहल गर्ने सन्देश दिनु भएको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले सार्वजनिक लगानी बढाउन र ट्राफिक व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाले माली नियुक्तिका चुनौतीहरू र सर्भिस लेनमा पार्किङको समस्या समाधान गर्न नगर र प्रहरीको सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल, वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न विषयगत समितिका संयोजक, नागरिक समाजका प्रतिनिधिहरू र पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०७-१५ , समय : ०६:००:१० , ९ घन्टा अगाडि