रुपन्देही खबर , ९७ पटक हेरिएको

काठमाण्डौ ,साउन १
आजदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने भएको छ । अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म धरहरा खुल्ने शहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले जानकारी दिनु भयो । यसअघि दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म धरहरा सर्वसाधारणका लागि खुल्ला हुँदै आएको थियो ।
त्यस्तै अबदेखि सार्वजनिक बिदाको दिन पनि धरहरा चढ्न पाइने भएको छ । अब शनिवार दिइने साप्ताहिक बिदाको सट्टा बुधवार धरहरा बन्द हुने भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनर्निर्माणपछि गएको असोज ३ गतेदेखि परिक्षणका रुपमा खुला गरिएको थियो । गएको मङ्सिर ९ गतेदेखि भने शुल्कसहित धरहरा खुला गरिएको हो ।
धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै अहिले स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।
प्रकाशित मिति: २०२५-०७-१७ , समय : ११:५६:२६ , २ दिन अगाडि