कबड्डी विश्वकपका लागि नेपाली टोली भोलि भारतको हरियाणा जाँदै

रुपन्देही खबर , ६०  पटक हेरिएको

काठमाण्डाै ,साउन २

दोस्रो संस्करणकाे महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली भोलि भारतको हरियाणा जाने भएको छ । नेपाली टोली १४ खेलाडीसहित १८ सदस्यीय रहेको छ । प्रतियोगिता आउँदो अगस्ट ३ देखि १० तारिखसम्म हरियाणाको मोरमाजरामा हुनेछ । नेपाली टोलीमा कप्तान मानमति विष्ट, उपकप्तान जयन्ती बडु, मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मीना नेपाली, गङ्गा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन् । यस्तै टोलीको प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद् दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन् ।

प्रतियोगिताअघि नेपाली टोलीले मोरमाजरामै १२ दिनको अवधिमा प्रशिक्षणका साथै स्थानीय ५ वटा क्लबसँग अभ्यास खेल पनि खेल्ने छ । एशियाका ४७ देशमध्येबाट विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै प्रतियोगितामा सहभागी हुन लागेको हो ।

प्रतियोगितामा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेई, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्ड सहभागी हुनेछन् । कबड्डी विश्वकपको दोस्रो संस्करण १३ वर्षपछि हुन लागेको हो । पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा भएको थियो । टोलीलाई आज राष्ट्रिय खेलकुद परिषद् (राखेपा) का सदस्य–सचिव टङ्कलाल घिसिङ, अखिल नेपाल कबड्डी सङ्घकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले एक कार्यक्रमबीच बिदाइ गरेका छन । प्रशिक्षक भट्ट र कप्तान मानमतिले ८ महिनाको बन्द प्रशिक्षणले तयारी राम्रो भएको भन्दै पदक जित्नेमा आशावादी रहेको बताएका छन ।

प्रकाशित मिति: २०२५-०७-१८ , समय : २१:०४:२४ , १५ घन्टा अगाडि