उपाध्यक्ष सुनिता चौधरीलाई ओमसतिया गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

उर्मिला यादव यात्री , ८६२  पटक हेरिएको

भैरहवा, साउन १६

रुपन्देहीको ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) घरायसी कामको सिलसिलामा साउन १२ गतेदेखि कार्यालयमा उपस्थित हुन नसक्ने भएकाले गाउँपालिकाको कार्य सञ्चालनका लागि उपाध्यक्ष सुनिता चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ बमोजिम अध्यक्ष अनुपस्थित रहेको अवस्थामा उपाध्यक्षलाई कार्यवाहकको रूपमा जिम्मेवारी दिने प्रावधानअनुसार चौधरीलाई यो जिम्मेवारी दिइएको हो ।

गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले आइतबार पत्र जारी गर्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी साउन १२ गते सोमबारदेखि लागू हुने उपाध्यक्षलाई दिएको जानकारी दिनु भएको छ । कार्यभार सम्हालेसँगै सुनिता चौधरीले गाउँपालिकाका योजना, नीति, सेवा प्रवाह र प्रशासनिक कामकाजलाई निरन्तरता दिइ रहेको जानकारी दिनु भएको छ । गाउँपालिका स्रोतका अनुसार अध्यक्ष यादवको अनुपस्थितिमा कुनै पनि सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले सो निर्णय लिइएको हो ।

स्थानीयस्तरमा महिलाको नेतृत्वलाई प्रोत्साहन दिने यस निर्णयप्रति जनप्रतिनिधि र स्थानीयवासीले सकारात्मक प्रतिक्रिया दिएका छन् । उपाध्यक्ष चौधरीलाई कार्यकारी जिम्मेवारी दिइनु महिलाको सशक्तिकरण र नेतृत्व क्षमताको उदाहरणका रूपमा हेरिएको छ ।

प्रकाशित मिति: २०२५-०८-०१ , समय : १८:५२:१८ , २ हप्ता अगाडि