तेजस बज्र कराते फाइटर्सको सब–डोजो प्रमाणपत्र तथा बेल्ट वितरण कार्यक्रम सम्पन्न

उर्मिला यादव यात्री , १२८  पटक हेरिएको

भैरहवा,साउन १७

लुम्बिनी क्योकुशिन कराते डो संघ बज्र रुपन्देही अन्र्तगत संचालित तेजस बज्र कराते फाइटर्स रुपन्देहीले आज शनिबार एक कार्यक्रमका बिच आफ्ना प्रशिक्षार्थीलाई बेल्ट तथा प्रमाणपत्र वितरण गरेको छ । लुम्बिनी क्योकुशिन कराते डो संघ बज्र रुपन्देहीका अध्यक्ष सिहान करुणानिधी त्रिपाठीको अध्यक्षता तथा नेपाल बैश्य महासंघ रुपन्देहीका अध्यक्ष अमित कुमार गुप्ताको प्रमुख आतिथ्यतामा ९ जना बिद्यार्थीहरुलाई बेल्ट  तथा प्रमाणपत्र वितरण गरिएको हो ।

बेल्ट तथा प्रमाणपत्र वितरण गर्नु हुदै प्रमुख अतिथी गुप्ताले कराते जस्ता आत्मरक्षा तथा अनुशासनमा आधारित तालिमहरूले बालबालिका र युवाहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक संस्कार विकास गर्न मद्दत गर्ने बताउनुभएको छ । उहाँले प्रशिक्षक कृष्णम बरनवालको मेहनत, लगनशीलता र दूरदृष्टिको प्रशंसा समेत गर्नु भएको थियो । उहाले “आजको युगमा यस्ता सिपमूलक कार्यक्रमले बालबालिकालाई सशक्त बनाउने मात्र होइन, समाजमा अनुशासन र सकारात्मक सोच फैलाउने माध्यम बन्न सक्ने भएकोले यो संस्थालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी राष्ट्रिय वैश्य महासंघ नेपाल रुपन्देहीका महासचिव तारकेश्वर कान्दुले युवाहरूको शारीरिक र मानसिक विकासमा कराते जस्ता सीपमूलक तालिमले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभएको छ । उहाँले भन्नुभयो, “आजको प्रतिस्पर्धात्मक युगमा आत्मरक्षा मात्र होइन, आत्मअनुशासन, आत्मविश्वास र सकारात्मक सोच अत्यन्त आवश्यक छ । तेजस बज्र कराते फाइटर्सले यही उद्देश्य लिएर अगाडि बढिरहेको देख्दा खुसी लागेको बताउदै संस्थालाई आगामी दिनमा पनि सहयोग रहने बिश्वास ब्यक्त गर्नु भएको छ ।

यस्तै गरी लुम्बिनी क्योकुशिन कराते डो संघ बज्र रूपन्देहीका अध्यक्ष सिहान करुणानिधि त्रिपाठीले खेलकुदको महत्वमाथि प्रकाश पार्दै करातेजस्ता आत्मरक्षा मूलक खेलले युवाहरूको शारीरिक, मानसिक र चारित्रिक विकासमा गहिरो प्रभाव पार्ने बताउनुभएको छ । उहाले “खेलकुद केवल प्रतिस्पर्धा जित्ने माध्यम नभइ अनुशासन, आत्मनियन्त्रण, नेतृत्व क्षमता र सहकार्य सिकाउने जीवनपद्धति भएको बताउनु भएको छ । उहाले कराते जस्ता मार्सल आट्र्सले आत्मरक्षा मात्र होइन, आत्मविश्वास निर्माण, मानसिक एकाग्रता र जीवनमा सधैं अघि बढ्न प्रेरणा दिने गरेको उल्लेख गर्नु भयो ।

साथै उहाँले नेपाली कराते खेलाडीहरूले देश–विदेशमा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उजागर गरिरहेको उदाहरण पनि प्रस्तुत गर्नुभएको थियो । त्रिपाठीले “नेपालका धेरै कराते खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरमा सफल भएको बताउदै यस्ता खेलले देशको प्रतिष्ठा वृद्धि गर्नुका साथै युवा पुस्तालाई दुर्गम र नकारात्मक बाटोबाट बचाएर उज्यालो भविष्यतर्फ डोरयाउने गरेको बताउनु भयो । उहाँले तेजस बज्र कराते फाइटर्सको प्रयासको प्रशंसा गर्दै यस्ता संस्था र प्रशिक्षकको समर्पणले नै खेलकुद क्षेत्रमा गुणात्मक सुधार ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।


यस्तै गरी कार्यक्रममा तेजस बज्र कराते फाइटर्स रूपन्देहीका संस्थापक तथा प्रशिक्षक कृष्णम बरनवालले संस्थाको नाम आफ्नी दिदी तेजस्विनी बरनवालको सम्मानमा “तेजस“ राखिएको उल्लेख गर्दै, कराते मार्फत आत्मरक्षा मात्र होइन, आत्मसम्मान, अनुशासन र संस्कार सिकाउने उद्देश्य रहेको स्पष्ट पार्नुभएको थियो । उहाले “शारीरिक तन्दुरुस्तीका साथै नैतिक शिक्षाको सुदृढीकरण पनि आजको आवश्यकता भएको बताउदै आफनो संस्थाले युवाहरूमा सकारात्मक सोच, आत्मविश्वास र सामाजिक उत्तरदायित्व विकसित गर्न निरन्तर क्रियाशील रहने जोड दिनु भएको छ ।

कार्यक्रममा युनिभर्सल कोचिङ सेन्टरका प्रबन्धक मकबुल अहमद, कान्दु धर्मशालाका निर्वतमान अध्यक्ष श्रीराम गुप्ता लगायतले आ आफनो भनाई राख्नु भएको थियो । राष्ट्रिय वैश्य महासंघ नेपाल रुपन्देहीका उपाध्यक्ष भीम गुप्ता, वरिष्ठ उपाध्यक्ष गणेश गुप्ता, जिल्ला सदस्य राजु जैसवाल,बुद्ध सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष श्रीचन्द्र जसवाल,रूपन्देही लीलाराम न्यौपाने माविका शिक्षक देवराज पन्थी लगायत स्थानिय सरोकारवाला निकायको सहभागिता रहेको थियो । भने तेजस बज्र कराँते फाइटर्सका प्रशिक्षक कृष्णम बरनवाललाई सब डोजो प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०२५-०८-०२ , समय : १७:५९:०७ , ३ घन्टा अगाडि