एशिया कपमा भारत र पाकिस्तान बीचको खेल दुबईमा हुने

रुपन्देही खबर , ७५  पटक हेरिएको

काठमाण्डाै ,साउन १८

एशिया कप २०२५ को तालिकापछि अब खेलहरूको स्थल पनि घोषणा भएको छ । एशियाली क्रिकेट परिषद् (एसीसी) ले आउँदो सेप्टेम्बरमा हुने एशिया कपका लागि स्थलहरू घोषणा गरेको छ । एसीसीका अनुसार एशिया कपका खेलहरू संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई र आबुधाबीमा हुनेछ । एशिया कप सेप्टेम्बर ९ देखि २८ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भारत र पाकिस्तानबीचको समूह चरणको खेल सेप्टेम्बर १४ मा दुबईमा हुनेछ ।

एशिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र ओमान छन् । समूह ‘बी’ मा बङ्ग्लादेश, श्रीलङ्का, अफगानिस्तान र हङकङ छन् । पछिल्लो पटक सन् २०२३ मा एशिया कप पाकिस्तानले आयोजना गरेको थियो । तर सुरक्षा कारणले भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि हाइब्रिड मोडेलमा खेलाइएको थियो । भारतका सबै खेल श्रीलङ्कामा भएका थिए ।

गएको अप्रिलमा पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले मे ६–७ मा अपरेशन सिन्दूर शुरू गरेको थियो । पहलगाम आक्रमणमा २६ जनाको ज्यान गएको थियो । दुई देशबीचको राजनीतिक सम्बन्ध खराब छ । यस्तो अवस्थामा पाकिस्तान एशिया कप खेल्न भारत नआउने हुँदा प्रतियोगिता यूएईमा आयोजना हुन लागेको हो ।

सन् १९८४ देखि शुरू भएको एशिया कपमा भारत सबैभन्दा सफल टोली हो । भारतले सबैभन्दा धेरै ८ पटक उपाधि जितेको छ । यस्तै श्रीलङ्काले ६ पटक र पाकिस्तानले २ पटक उपाधि जितेका छन् ।

प्रकाशित मिति: २०२५-०८-०३ , समय : १६:१९:१५ , ५ घन्टा अगाडि