थाइल्याण्डमा हुने हिरोज तेक्वान्दो च्याम्पियनसिपमा लुम्बिनीबाट १२ खेलाडी सहभागी

रुपन्देही खबर , १८०  पटक हेरिएको

भैरहवा, साउन १९

आगामी अगस्ट ८ देखि १० तारिखसम्म थाइल्याण्डमा आयोजना हुने आठौं हिरोज तेक्वान्दो च्याम्पियनसिप २०२५ मा लुम्बिनी प्रदेशबाट १२ जना खेलाडीले सहभागिता जनाउने भएका छन्। उनीहरूलाई प्रशिक्षक राकेश यादवको नेतृत्वमा उक्त प्रतियोगितामा सहभागी गराइने भएको हो।

आइतबार रुपन्देहीको  सिद्धार्थनगर नगरपालिका–७ मा अवस्थित क्रियटिभ तेक्वान्दो डोजाङ्गको कार्यालयमा विशेष कार्यक्रमका बीच लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले खेलाडी टोलीलाई बिदाइ गर्नु भएको छ ।

बिदाइ कार्यक्रममा मन्त्री पाण्डेयले प्रतियोगितामा सहभागिता जनाउनु लुम्बिनी प्रदेश र नेपालको गौरवको विषय भएको बताउँदै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश सरकार अन्तर्गतको खेलकुद मन्त्रालयले सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वका ३० भन्दा बढी देशका करिब ३ हजार ५ सय खेलाडी सहभागी हुँदैछन्। लुम्बिनी प्रदेशका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेर प्रदेश र देशको गौरव बढाउने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति: २०२५-०८-०४ , समय : ०७:००:४६ , २ दिन अगाडि