३१औं विश्व आदिवासी दिवस तिलोत्तमामा भव्य कार्यक्रमसहित मनाइने

रुपन्देही खबर , १३५  पटक हेरिएको

रुपन्देही, साउन १९

३१औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगर समन्वय परिषद्‌को आयोजनामा यही साउन २४ गते तिलोत्तमामा वृहत र्याली तथा कोण सभाको आयोजना गरिने भएको छ।

महासंघकी नगर अध्यक्ष गंगाकुमारी छन्त्यालका अनुसार र्याली विहान १०ः०० बजे मणिग्राम चोकबाट सुरु भई सांस्कृतिक झाँकी सहित शंकरपुर चोकमा पुगेर वृहत कोण सभामा परिणत हुनेछ। कार्यक्रममा सहभागिता जनाउँदै आफ्नो पहिचान र हक अधिकारका लागि आदिवासी जनजाति समुदाय एकजुट हुनुपर्ने सन्देश दिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाले बताउनु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर कनौजे मगरले आदिवासी समुदायले कहां चुके र अझै पनि कसरि चुक्दैछ भन्ने प्रश्न गर्दै अब पनि ढिलो भए भविष्यको पुस्ता ओझेलमा पर्न सक्ने खतरा रहेको बताउनु भयो । त्यसैले सबै जातीय संघसंस्थाको सहभागिता अनिवार्य रहेको उहाले जानकारी दिनु भएको छ ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण प्रमुख अतिथिका रूपमा, उप–प्रमुख जगेश्वरीदेवी चौधरी विशिष्ट अतिथिका रूपमा तथा अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहनेछ। कार्यक्रममा सहभागी हुन नगरवासी तथा एकल जातीय संघसंस्थाहरुलाई आ–आफ्नो पहिचान झल्किने भेषभूषा, पोशाक र सांस्कृतिक पहिरनमा उपस्थित हुन महासंघले आग्रह गरेको छ।

कार्यक्रमका सचिव धनबहादुर चौधरीले यो दिवस आदिवासी जनजातिहरूको अस्तित्व, अधिकार र पहिचानको रक्षा तथा प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर भएको बताउँदै कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२५-०८-०४ , समय : १५:४१:३६ , २ दिन अगाडि