संघीय लोकतान्त्रिक मोर्चाद्वारा सियारीमा जनजागरण अभियान हुदै

उर्मिला यादव यात्री , १६५  पटक हेरिएको

सियारी, साउन २०

संघीय लोकतान्त्रिक मोर्चाको आयोजनामा सियारी गाउँपालिकामा जनजागरण अभियान कार्यक्रम हुने भएको छ । देशको वर्तमान राजनीतिक अवस्थाबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना हुन लागेको यो कार्यक्रम भोलि बिहान ११ बजे सियारी गाउँपालिकाको सभाहलमा सञ्चालन गरिने आयोजकले भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

संघीय लोकतान्त्रिक मोर्चाले यस कार्यक्रम मार्फत नागरिकहरूलाई लोकतान्त्रिक मूल्य–मान्यता, संविधानको कार्यान्वयन, संघीयताको सुदृढीकरण तथा समसामयिक राजनीतिक चुनौतीबारे जानकारी दिन र जनताबीच संवादको वातावरण बनाउन चाहेको नागरिक उन्मुक्ति पार्टी रुपन्देहीका अध्यक्ष धनिराम चौधरीले जानकारी दिनु भएको छ ।

जनजागरण अभियानमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष लालवीर चौधरी, महासचिव गंगा चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरी, जसपा नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय, जसपा नेपालका महासचिव रामकुमार शर्मा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ सह–अध्यक्ष सवेन्द्रनाथ शुक्ला, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी लगायत नेताहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले साउन १८ गतेदेखि मोर्चाको ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ काठमाडौंबाट सुरु भएको बताउनु भएको छ । उहाले मधेस केन्द्रित ७ दलको मोर्चाले काठमाडौं, भैरहवा, नेपालगन्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा जनजागरण अभियान गर्न लागेको बताउदै रुपन्देहीको सियारीमा साउन २१ ग्ते अर्थात भोलि कार्यक्रम तय गरिएको जानकारी दिनु भयो ।

कार्यक्रममा मोर्चाका मुख्य नेताहरूले संघीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्यबारे स्पष्ट पार्ने समेत उहाले बताउनु भयो । अध्यक्ष यादवले ‘भोलिको कार्यक्रमले रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनको तयारीको झल्को समेत दिने उल्लेख गर्नु भयो ।

यस्तैगरी पत्रकार सम्मेलनमा लोसपा रुपन्देहीका अध्यक्ष रविकुमार रौनियारले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने र नागरिकस्तरमा राजनीतिक सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभएको छ । उहाले भन्नु भयो “संघीयता र समावेशीताको रक्षा गर्नु आजको मुख्य राजनीतिक एजेन्डा हो । राज्यका संरचनाहरूमा मधेशी, थारू, जनजाति, महिला र सीमान्तकृत समुदायको समान सहभागिता सुनिश्चित नगरी स्थायी शान्ति सम्भव छैन,“ “त्यसैले संघीय लोकतान्त्रिक मोर्चाले उठाएको मुद्दा सबै उत्पीडित वर्गको आवाज हो “ उहाले २१ गते हुने जनजागरण अभियान नागरिक उन्मुक्ति पार्टीको आयोजनामा भएको र यो अभियान चैत १७ गते सम्म संचालन हुने जानकारी दिनु भयो ।

सम्मेलनमा राष्ट्रिय मुक्ति पार्टीका जिल्ला अध्यक्ष मुकेश यादव, नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य नन्दा चौधरी, बिजय चौधरी, आश्विन गुरुंग, जसपा नेपालका उपाध्यक्ष कलामुद्धिन खां, जसपा नेपालका सचिव बिष्णु अधिकारी, जसपा नेपाल सिनपा नगर उपाध्यक्ष मनोज प्रजापति, लोसपा महिला संघका केन्द्रिय उपाध्यक्ष बिजया खत्री, लगायत नेताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०८-०५ , समय : २०:२०:५१ , १६ घन्टा अगाडि