रुपन्देही खबर , १५० पटक हेरिएको

भैरहवा, साउन २८
रुपन्देही क्षेत्र नं. ३ को आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारका आकांक्षी सिद्धार्थनगर–७ निवासी पार्थिवेन्द्र उपाध्यायद्वारा पत्रकार र सञ्चार माध्यममाथि गरिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघसहित विभिन्न पत्रकार संगठनहरूको गम्भीर ध्यानाकर्षण भएको छ। पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखेल, लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्यलगायतका पत्रकार संगठनका पदाधिकारीहरूले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ध्यानाकर्षण पत्र बुझाउँदै घटनाको सत्यतथ्य बुझी आवश्यक अनुसन्धान गरी कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।
पत्रमा उल्लेख भएअनुसार, केही दिन अघि रास्वपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा उपाध्यायले स्थानीय र अन्य कुनै मिडिया आवश्यक नभएको, समाचार पढ्दा हासो उठ्ने, सबै पत्रकार पाँच हजारमा बिक्ने जस्ता गम्भीर, तथ्यहीन र अमर्यादित अभिव्यक्ति दिएका थिए।
पत्रकार महासंघका पदाधिकारीहरूले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र प्रेसको मर्मविपरीत अभिव्यक्ति दिँदै पत्रकारिता जगतको गरिमा र विश्वसनीयतामा आघात पु¥याइएको आरोप लगाएका छन्। उनीहरूले यस्ता अभिव्यक्तिले समाजमा भ्रम र अविश्वास फैलाएको भन्दै तत्काल छानबिन गरी कानुनी कारबाही गर्न जोड दिएका छन्। ध्यानाकर्षण पत्रमा नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, लुम्बिनी प्रेस क्लब, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, संसदीय मामिला पत्रकार समाज, मर्चवार प्रेस क्लब र मधेशी पत्रकार समाज रुपन्देहीका पदाधिकारीहरूले हस्ताक्षर गरेका छन्।
प्रकाशित मिति: २०२५-०८-१३ , समय : २०:५०:४० , १४ घन्टा अगाडि