संघीयता, सुशासन र समाजवादको एजेण्डा लिएर जसपाको नियमित बैठक भैरहवामा सम्पन्न

रुपन्देही खबर , ७०  पटक हेरिएको

भैरहवा, साउन ३१

जनता समाजवादी पार्टी, नेपाल (जसपा) जिल्ला कार्य समिति रुपन्देहीले “संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद” नारासहित भैरहवामा नियमित बैठक सम्पन्न गरेको छ । जसपा रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवको अध्यक्षतामा बसेको बैठकले आगामी संगठनात्मक अभियान र राजनीतिक गतिविधिहरूबारे महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले समाजवादी युवा संघ केन्द्रिय तदर्थ समितिको गठन हुने भएकाले रुपन्देहीबाट केन्द्रिय सदस्यका लागि जावेद आलम, चन्दन चौधरी र सुरेन्द्र धवलको नाम सिफारिस गर्ने निर्णय भएको जसपा रुपन्देहीका अध्यक्ष यादवले जानकारी दिनु भएको छ ।

उहाले पार्टीको आधारभूत संगठन निर्माण अभियान अन्तर्गत आउँदो भाद्र अन्तिमतिर हुने जसपा, नेपाल लुम्बिनी प्रदेशको अधिवेशन तयारी स्वरूप संगठनात्मक सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियानलाई तिव्रता दिने निर्णय पनि बैठकले गरेको बताउनु भएको छ । सो अभियानलाई भाद्र १५ भित्र सकाउने योजना बनाइएको छ।

यस्तै गरी जनता समाजवादी पार्टी (जसपा), नेपाल लुम्बिनी प्रदेशको अधिवेशन भदौ २५, २६ र २७ गते रुपन्देहीमै हुने जिल्ला अध्यक्ष यादवले जानकारी दिनु भयो । बैठकमा अघिल्लो निर्णयअनुसार जिल्ला सदस्यमा मनोनित भएकाहरुलाई जिल्ला अध्यक्ष यादवले सपथ गराउनु भएको थियो भने केन्द्रिय सदस्य कैलाश गुरुङ र प्रदेश कार्यवाहक अध्यक्ष रामअवतार यादवले टिका लगाई खादा अर्पण गरी सम्मान गर्नु भएको थियो ।
जसपाले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मजबुत बनाउने एजेण्डासहित संगठन विस्तारमा जुटिरहेको बैठकले जनाएको छ।

प्रकाशित मिति: २०२५-०८-१६ , समय : २१:०४:४९ , ५ घन्टा अगाडि