रुपन्देही खबर , १०८ पटक हेरिएको

भैरहवा, भदौ १
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ ले आइतबार दोगहरास्थित मदरसा कादरिया मिस्बाहुल ओलुमका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ । मदरसामा अध्ययनरत १२३ जना विद्यार्थी र ९ जना शिक्षक तथा कर्मचारीलाई एकसाथ पोशाक प्रदान गरिएको सिनपा ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले जानकारी दिनु भएको छ ।
पोशाक वितरण गर्दै वडाध्यक्ष यादवले शिक्षामा समान पहुँच सुनिश्चित गर्न स्थानीय सरकार निरन्तर प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो– “विद्यालय जाने उमेरका कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नदिन हामी निरन्तर प्रयासरत छौं । विशेष गरी आर्थिक अभावका कारण बालबालिका अध्ययनमा बाधा नपरोस् भन्ने उद्देश्यले यस्तो सहयोग गरिएको बताउनु भयो । उहाँले शिक्षा नै उज्जवल भविष्यको आधार भएको उल्लेख गर्दै विद्यार्थीलाई कडा परिश्रमपूर्वक अध्ययन गर्न आग्रह गर्नुभएको छ । साथै वडा कार्यालयले आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्र्रतिबद्धता गर्नु भएको छ ।
पोशाक वितरण कार्यक्रममा वडा सदस्य हरि बहादुर के.सी., सईद अहमद धुनिया, इन्द्रमती धोबी, मदरसाका अध्यक्ष अहमद हुसेन, प्रधानाध्यापक साज्मा खातुन, मौलाना जलालुद्दीन खाँ लगायतको सहभागिता रहेको थियो ।
मदरसा कादरिया मिस्बाहुल ओलुममा हाल बाल विकासदेखि कक्षा ६ सम्म पठनपाठन हुँदै आएको छ । स्थानीय समुदायको सक्रियता र वडाको निरन्तर सहयोगले यहाँ अध्ययनरत विद्यार्थीलाई शिक्षा प्राप्ति सहज बन्दै गएको सरोकारवालाको भनाइ छ । वडाध्यक्ष यादवको पहलमा गरिएको पोशाक वितरणले विद्यार्थी तथा अभिभावकमा उत्साह थपिएको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति: २०२५-०८-१७ , समय : १८:५३:२५ , ३ घन्टा अगाडि