रुपन्देही खबर , १२८ पटक हेरिएको

भैरहवा, भदौ ४
सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबीन गर्न सरकारलाई परमादेश जारी गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देहीमा विरोध प्रदर्शन गरेको छ। पार्टीको जिल्ला समिति रुपन्देहीको आयोजनामा मंगलबार मायादेवी गाउँपालिका–७, बनगाई चोक (मर्चवार सडक) मा प्रदर्शन गरिएको हो।
सर्वोच्च अदालतले १९ वर्षअघि गौरमा भएको हत्याकाण्डको छानबीन गर्न सोमबार परमादेश जारी गरेको थियो। सोही परमादेशविरुद्ध जसपाका नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका हुन्। भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगरेको भन्दै सरकारले पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि षड्यन्त्र गरेको आरोप लगाउँदै प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए।
जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले मधेश अब आफ्नो अधिकारका लागि चुप लागेर बस्ने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ । उहाले भन्नू भयो “मधेश अब आफ्नो पहिचान र अधिकारको लागि जागिसकेको छ। यो संघर्ष केवल उपेन्द्र यादवको मात्र होइन, सम्पूर्ण उत्पीडित जनताको अधिकारको संघर्ष हो। सरकारको दमन, षड्यन्त्र र प्रतिशोधको राजनीति यस्तै रहिरहे हजारौँ उपेन्द्र यादव जन्मिनेछन्। हामीलाई धम्की र षड्यन्त्रले डर देखाउन सक्दैन।”
अध्यक्ष यादवले “मधेशले राज्यसत्ता र मुलुकको नीति निर्माणमा समान सहभागिता खोजेको बताउदै सरकारले बारम्बार मधेशको मुद्दा दबाउने काम गरेको उल्लेख गर्नु भयो । उहाले मधेशका आवाजलाई दबाएर कुनै पनि सरकारले लामो समयसम्म शासन चलाउनै नसक्ने दाबी गर्नु भयो ।
त्यस्तै गरि जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष राम अवतार यादवले वर्तमान सरकारले तराई–मधेशलाई योजनाबद्ध रूपमा कमजोर बनाउन खोजेको आरोप लगाउनुभएको छ। उहाँले भन्नुभयो, “भूमिसम्बन्धी अध्यादेश वास्तवमा मधेशलाई मरुभूमि बनाउने खतरनाक षड्यन्त्र थियो। हाम्रो पार्टीले यो जनविरोधी अध्यादेशलाई रोकेको छ, त्यसकै बदलामा सरकारले अध्यक्ष उपेन्द्र यादवलाई फसाउन राजनीतिक प्रतिशोध साधेको हो। यो केवल उपेन्द्र यादवको प्रश्न होइन, मधेशको अस्तित्वको प्रश्न हो।”
राम अवतार यादवले चेतावनी दिँदै भन्नुभयो, “यदि सरकार यही बाटोमा अडिरह्यो भने मधेश फेरि निर्णायक आन्दोलनमा उत्रिनेछ। हामी आफ्नो अधिकार, पहिचान र अस्तित्वका लागि अन्तिमसम्म लड्न तयार छौँ।”
पार्टीका केन्द्रीय सदस्य कैलाश गुरुङले आज शान्तिपूर्ण आन्दोलन गरिएको भए पनि आगामी दिनमा अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।
यस्तै गरि केन्द्रीय सदस्य रीता यादवले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार जनविरोधी भएको आरोप लगाउनु भएको छ । उहाले “भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगरेको कारण पार्टी अध्यक्षमाथि षड्यन्त्र भएको दावी गर्दै यसलाई कदापि नस्वीकार्ने जिकिर गर्नु भयो ।
यस्तै गरि प्रदेश सदस्य उज्जवल पोखरेलले वर्तमान सरकार पहिचान विरोधी र तानाशाही भएको टिप्पणी गर्नुभएको छ ।
समाजवादी विद्यार्थी युनियन, नेपालका वरिष्ठ उपाध्यक्ष राहुल यादवले अध्यक्ष उपेन्द्र यादवलाई व्यक्ति मात्र नभई विचारको प्रतीक भएको बताउनुभएको छ । उहाँले भन्नू भयो “उपेन्द्र यादव कुनै व्यक्तिगत पदको नाम होइनन्, उहाँ उत्पीडित जनताको आवाज र समानताको विचार हुनुहुन्छ। यस्तो विचारलाई कसैले दबाउन सक्दैन। सरकार षड्यन्त्र गरेर उपेन्द्र यादवलाई कमजोर बनाउन खोजिरहेको छ तर यो सम्भव हुँदैन, बरु झन् जनताले उहाँलाई बलियो बनाइदिनेछन्।” उहाले “आज विद्यार्थी, युवा, किसान र मजदुर सबै उत्पीडित वर्ग उपेन्द्र यादवको नेतृत्वमा एकजुट रहेको बताउदै यदि सरकार अलोकप्रिय कदमबाट पछि हटेन भने देशव्यापी विद्यार्थी आन्दोलन सुरु हुने चेतावनी दिनु भएको छ ।
त्यस्तै, सिद्धार्थनगर नगर अध्यक्ष जावेद आलमले भूमिसम्बन्धी अध्यादेश पारित गर्न नदिने अडान कायम राखेका कारण सरकार राजनीतिक प्रतिशोधमा उत्रिएको आरोप लगाउनुभएको छ ।
विरोध प्रदर्शनमा पार्टीका जिल्ला उपाध्यक्ष कलामद्दीन खाँ, विष्णु अधिकारी लगायतका नेताहरुले पनि सम्बोधन गर्नुभएको थियो।
प्रकाशित मिति: २०२५-०८-२० , समय : ०७:२३:३९ , ६ घन्टा अगाडि