सुरेश यादव , १३० पटक हेरिएको

परासी,भदौ ४
जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यक्ष उपेन्द्र यादवविरुद्ध सर्वोच्च अदालतले दिएको परमादेशप्रति घोर आपत्ति प्रकट गरेको छ। पार्टीको नवलपरासी जिल्ला समिति आयोजित पत्रकार सम्मेलनमार्फत उक्त निर्णय अस्वीकार गर्दै आन्दोलनको चेतावनी दिइएको हो।
रौतहटको गौरमा २०६२/६३ सालको मधेस आन्दोलनका क्रममा माओवादी र तत्कालीन संघीय समाजवादी फोरमबीच भएको झडपमा २७ जनाको ज्यान गएको थियो। सो घटनाबारे १९ वर्षपछि सर्वोच्च अदालतले छानबिन गर्न परमादेश दिएको छ।
जसपा नेपाल नवलपरासीका अध्यक्ष धरेन्द्र यादवले सर्वोच्चको निर्णय पक्षपाती भएको दाबी गर्दै , “मानवअधिकार आयोग र युएनएनकै प्रतिवेदनले उक्त घटनामा फोरमको संलग्नता नरहेको प्रमाणित गरिसकेको बताउनु भएको छ । उहाले असामान्य अदालतको निर्णय फिर्ता नभए हामी चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिनु भएको छ उहाँले मधेसी समुदायको हक अधिकारका लागि कुनै हालतमा पछि नहट्ने दृढता व्यक्त गर्नुभयो।
यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा पूर्व रक्षा राज्यमन्त्री रामवचन यादवले वर्तमान सरकारलाई देश र जनताप्रति बेवास्ता गरेको आरोप लगाउँदै, “राजतन्त्रपछि आएको गणतन्त्र र लोकतन्त्रलाई अझै प्रत्याभूत गर्न नसकिएको बताउनु भएको छ । उहाले अहिलेको एमाले–कांग्रेस नेतृत्वको सरकारले देशप्रति वफादारीपूर्वक काम गर्न नसकेको बताउनु भएको छ ।
आदेश फिर्ता नभएसम्म जसपाले तराईका विभिन्न जिल्लामा आन्दोलन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ। सोही क्रममा आज भदौ ४ गते नवलपरासीको सदरमुकाम परासीमा दिउँसो १२ बजे विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको र सम्पूर्ण पदाधिकारी तथा कार्यकर्तालाई उपस्थित रहन आग्रह गरिएको जिल्ला अध्यक्ष यादवले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: २०२५-०८-२० , समय : ०७:४३:३३ , ६ घन्टा अगाडि