रुपन्देही खबर , १०२ पटक हेरिएको

काठमाडौं, भदौ ४
जनता समाजवादी पार्टी (जसपा), नेपालले सर्वोच्च अदालतले गौर हत्याकाण्डसम्बन्धी छानबिन प्रकृया अघि बढाउन दिएको परमादेशप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीले सर्वोच्च अदालतको आदेशको पूर्णपाठ नै सार्वजनिक नभएको अवस्थामा विभिन्न सञ्चारमाध्यमले अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरी पूर्वाग्रही र भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै कडा आपत्ति जनाएको हो।
जसपाले आज विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले दिएको आदेशको प्रतिलिपि नआउँदै भ्रामक प्रचार गरिएको भन्दै त्यस्तो कार्यप्रति भत्सर्ना गरेको छ। पार्टीका प्रवक्ता माननीय मनिष कुमार सुमनले हस्ताक्षर गरेको विज्ञप्तिमा, “सञ्चार माध्यममा सम्प्रेषित समाचार पूर्णरुपमा पूर्वाग्रही, भ्रामक तथा सस्तो लोकप्रियताको लागि नियतवश गरिएको हो” भनिएको छ।
विज्ञप्तिमा २०६३ साल चैत्र ७ गतेको गौर घटनाबारे तत्कालीन सरकारले नै उच्चस्तरीय न्यायिक छानबिन समिति बनाएर प्रतिवेदन पेस गरिसकेको, राष्ट्रिय मानव अधिकार आयोग र नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिशन (UNMIN) ले समेत स्वतन्त्र अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गरिसकेको स्मरण दिलाइएको छ।
जसपाले यो राजनीतिक विषय भएकोले राजनीतिक तहमै समाधान खोजिनु पर्नेमा, पुनः अनुसन्धान गर्ने निर्णयले आन्दोलनकारी मधेशी जनता र अधिकारकर्मीहरूको भावना विपरीत असर गर्न सक्ने उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “सर्वोच्च अदालतको आदेशको प्रतिलिपि सार्वजनिक नहुँदै गलत समाचारमा विश्वास गरी अदालतविरुद्ध कुनै गतिविधि नगर्न सबैलाई अपिल गर्दछौं।”
साथै जसपाले अध्यक्ष यादवलाई लक्षित गरी भ्रामक समाचार सम्प्रेषण गर्दै मधेश आन्दोलनलाई कमजोर पार्ने र राजनीतिक प्रतिशोधको वातावरण सिर्जना गर्न खोजिएको भन्दै सञ्चारमाध्यमलाई जिम्मेवार बन्न आग्रह गरेको छ।
प्रकाशित मिति: २०२५-०८-२० , समय : १२:४९:३६ , ६ घन्टा अगाडि