रुपन्देही खबर , १४९ पटक हेरिएको

भदौ, भैरहवा ८
सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा, रूपन्देहीको आयोजनामा १६० औं मोती जयन्ती तथा स्रस्टा सम्मान कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । सिसासका अध्यक्ष सरु ज्ञवालीको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यतामा १६० औं मोती जयन्ती तथा स्रस्टा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राज्ञ बूँद रानाले
“मोतीराम भट्ट नेपाली साहित्यका प्रथम महाकवि बन्ने बाटो प्रशस्त गर्ने महान व्यक्तित्व भएको बताउनु भएको छ । उहाले भट्टको स्मरणले हामीलाई साहित्यको गहिरो मर्म बुझ्न प्रेरणा दिदै आएको उल्लेख गर्नु भयो । उहाले आज सम्मानित स्रस्टाहरूले पनि नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिइरहनुभएको बताउदै, जसलाई हामीले गर्वका साथ स्वीकार गर्नुपर्ने उल्लेख गर्नु भयो ।
यस्तै गरि कार्यक्रमलाई सम्बोधन गर्दै सिसासकी अध्यक्ष सरु ज्ञवालीले “मोतीराम भट्टले नेपाली साहित्यमा गरेको योगदानलाई स्मरण गर्दै यस कार्यक्रमलाई निरन्तरता दिन पाउनु हाम्रो लागि गौरवको विषय भएको बताउनु भएको छ ।उहाले साहित्य स्रष्टाहरूलाई सम्मान गर्दा उनीहरूको सिर्जनशीलता अझ प्रोत्साहित हुने र समाजमा सकारात्मक ऊर्जा प्रवाह हुने बताउनु भएको छ ।
कार्यक्रममा तिलोत्तमाका स्रस्टा डी.आर. न्यौपाने सूर्य र सिद्धार्थनगर निवासी स्रस्टा मञ्जु सिग्देललाई सम्मान गरिएको थियो । सल्लाहकार सुरज घिमिरे दीपशिखाले मोतीराम भट्टको जीवनी, व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभएको थियो भने नारायणप्रसाद भण्डारीले सम्मानित स्रस्टाहरुको परिचय प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सिसासका उपाध्यक्ष विष्णुप्रसाद गजुरेलको स्वागत मन्तव्य रहेको कार्यक्रम संचालन सचिव रामराज गौतमले गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिमा आख्यानकार वनमाली निराकार रहनुभएको थियो भने कथाकार विजय सागर, सहिद स्मृति पुस्तकालयका अध्यक्ष छन्दकवि रूद्र ज्ञवाली, गजलकार तथा कवि रमेश समर्थन, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, डा. दामोदर ढकाल, सिसासका संस्थापक अध्यक्ष तथा सल्लाहकार सुरज घिमिरे, पूर्व अध्यक्ष छवि ज्ञवाली, संस्थाका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार नारायणप्रसाद भण्डारी, सुवास रिजाल ‘यात्री’, कमल पोख्रेल ‘निश्छल’ लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा उपस्थित सर्जकहरूले मोतीराम भट्टलाई समर्पित गजल, कविता, मुक्तक र गीत प्रस्तुत गर्नुका साथै सम्मानित स्रस्टाहरूलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा ३६ जना भन्दा बढी साहित्यकारहरूको उपस्थिति थियो ।
प्रकाशित मिति: २०२५-०८-२४ , समय : १०:०३:५२ , ९ घन्टा अगाडि