मानव बेचबिखन विरुद्ध विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रम सम्पन्न

रुपन्देही खबर , १५९  पटक हेरिएको

भैरहवा,भदौ २०

“तिनै तहका सरकार मिली गरौं हातेमालो : मानव बेचबिखनको हटाऔं दुष्चक्रको जालो” भन्ने मूल नाराका साथ मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय सि.न.पा.–१ रुपन्देहीको आयोजनामा र जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र रुपन्देही तथा सिद्धार्थनगर नगरपालिकाको समन्वयमा बिहीबार पश्चिमाञ्चल इङ्गलिस स्कुल सिनपा ६ भैरहवामा विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय बेलहियाका प्रमुख नितेश चौधरीले जानकारी दिनु भएको छ ।

कार्यक्रमको सहजीकरण गर्नु हुँदै शान्ति पुनर्स्थापना गृह बेलहिया शाखाका प्रमुख नितेश चौधरीले “मानव बेचबिखन रोकथामका लागि चेतना नै पहिलो ढाल भएको बताउनु भएको छ । उहाले यसका जोखिम, कारण र परिणामबारे विद्यार्थीलाई बुझाउन सकियो भने उनीहरू आफैं परिवर्तनका दूत बन्न सक्छन भन्ने जोड दिनु भएको थियो । उहाले शिक्षालयबाटै सचेतना शुरु हुनु नै सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनु भएको छ ।

यस्तै गरि कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देही महिला सेल प्रमुख सुदीप जिसीले “मानव बेचबिखन आजको युगको सबैभन्दा ठूलो अपराधमध्ये एक भएको बताउनु भएको छ । उहाले यसलाई रोक्न कानुनी कारबाही मात्र होइन, जनस्तरमा सचेतना अत्यावश्यक भएको बताउदै विद्यार्थीले सचेत भई आफ्ना साथी, परिवार र समुदायलाई सचेत पार्ने काम गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नु भयो ।

यस्तै गरि कार्यक्रमका अध्यक्ष तथा विद्यालयका सहायक प्रधानाध्यापक नवराज उपाध्यायले “विद्यार्थी स्तरमै मानव बेचबिखन विरुद्ध सचेतना जगाउन सकियो भने भविष्यमा यो अपराध नियन्त्रण गर्न सजिलो हुने बिश्वास व्यक्त गर्नु भएको छ । उहाले परिवार, विद्यालय र समाज सबैको साझा अभियानले मात्र मानव बेचबिखनको दुष्चक्र अन्त्य गर्न सकिने जोड दिनु भएको छ । कार्यक्रममा कक्षा ९ र १० का गरी १ सय १० जना विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो

प्रकाशित मिति: २०२५-०९-०५ , समय : १४:२७:०० , २ दिन अगाडि