नेपाल एएफसी यू-२३ एशियन कप छनोटको समूह चरणबाटै बाहिरियो

रुपन्देही खबर , ४२  पटक हेरिएको

तस्बिर : एन्फा

काठमाण्डौ,भदौ २२

नेपाल एएफसी २३ वर्षमुनिको एशियन कप छनोटको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणअन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाल हिजो सिरियासँग पराजित भयो । रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल सिरियासँग ४–२ गोलले पराजित भएको हो । नेपालका निराजन धामी र सुमित श्रेष्ठले समान एक गोल गरे । सिरियाका अलि अलरिना, महमूद नायेफ, महमूद अलासवाद र मोहम्मद अलमुस्तफाले समान एक गोल गरे । लगातार दुई खेलमा पराजित नेपाल अङ्कविहिन हुँदै तालिकाको पुछारमा छ ।

लगातार दुई खेलमा जीत निकालेको सिरिया ६ अङ्कसहित शीर्ष स्थानमा छ । उसले पहिलो खेलमा फिलिपिन्सलाई हराएको थियो । यसअघि पहिलो खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । यो समूहमा नेपालसँगै आयोजक ताजकिस्तान, सिरिया र फिलिपिन्स छन् । नेपालले पर्सि फिलिपिन्ससँग खेल्नेछ । छनोट प्रतियोगितामा ४४ वटा टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा चार टोलीले एक अर्कासँग खेल्नेछन् । समूहको शीर्ष स्थानमा रहने र चार उत्कृष्ट उपविजेता साउदी अरबमा अर्को वर्ष हुने एएफसी २३ वर्षमुनिको एशियन कपमा छनोट हुनेछ ।

प्रकाशित मिति: २०२५-०९-०७ , समय : ०८:४०:४१ , ४ घन्टा अगाडि