सिसास भैरहवा रूपन्देहीको २६० औं नियमित मासिक साहित्यिक सङ्गम भैरहवामा सम्पन्न

रुपन्देही खबर , ७३  पटक हेरिएको

भैरहवा,भदौ २२

सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा, रूपन्देहीले आफ्नो २६०औं नियमित मासिक साहित्यिक सङ्गम भैरहवामा एक भव्य कार्यक्रममा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सरु ज्ञवालीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार विजय सागरको प्रमुख आतिथ्यमा शनिबार भैरहवामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक विधाका स्रष्टाहरूले गीत, कविता, मुक्तक, गजल लगायतका रचनाहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सरु ज्ञवालीले साहित्य समाजलाई सजग, सचेत र सृजनशील बनाउन सक्ने माध्यम भएको भन्दै सिसासले साहित्यिक वातावरण निर्माणमा खेलेको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नु भएको थियो । उहाले “साहित्य सृजनाले मात्र होइन, समाजलाई दिशा देखाउने शक्तिशाली आधार भएको बताउदै। स्रष्टाहरूले लेखनीमार्फत समाजका विकृति र विसङ्गतिलाई सच्याउने दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै गरि प्रमुख अतिथि वरिष्ठ साहित्यकार विजय सागरले सिसासले निरन्तरता दिँदै आएको मासिक साहित्यिक सङ्गमलाई नेपाली साहित्यमा योगदान दिने उदाहरणीय अभ्यासका रूपमा लिनु पर्ने बताउनु भएको छ। उहाले “दुई दशकभन्दा लामो यात्रामा सिसासले सिर्जनशीलतालाई मात्र होइन, नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्ने कार्य पनि गरिरहेको जोड दिदै यसलाई निरन्तरता दिनु आजको आवश्यकता भएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सिसासका विशिष्ट सदस्य वनमाली निराकार, सल्लाहकारहरू रूद्र ज्ञवाली र ठाकुरचन्द्र शर्मा, संस्थापक अध्यक्ष सुरज घिमिरे “दीपशिखा”, पूर्व अध्यक्षहरू नारायणप्रसाद भण्डारी र छविलाल न्यौपाने, साहित्यकारहरु राधा भट्टराई, मधुसुदन पोख्रेल, निमा डि.सी., मञ्जु सिग्देल, सावित्री घिमिरे, घनश्याम विश्वकर्मा, लक्ष्मीप्रसाद अधिकारी, सिर्जना खनाल, हिमाल बरुवाल लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा कोषाध्यक्ष सिर्जना खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव रामराज गौतमले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२५-०९-०७ , समय : १०:११:०४ , ६ घन्टा अगाडि