नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी–२० शृङ्खला आजदेखि शुरू हुँदै

रुपन्देही खबर , ८५  पटक हेरिएको

काठमाण्डौ,असोज ११

नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुँदैछ । पहिलो खेल आज राति सवा आठ बजे शारजाहमा हुनेछ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय शृङ्खला खेल्न लागेको हो ।

वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली हो । नेपालले अहिलेसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउन सकेको छैन । पछिल्लो समय खराब प्रदर्शन गरिरहेको वेस्ट इन्डिजलाई हराउने नेपालसँग अवसर पनि छ । वेस्ट इन्डिजले पछिल्ला १० टी–२० मा दुई वटा मात्र जितेको छ ।

नेपालले भने मिश्रित नतिजा निकालेको छ । नेपालले पछिल्ला १० टी–२० मा पाँच वटा जितेको छ । ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहनेछ । शृङ्खलाको दोस्रो खेल पर्सि सोमवार र तेस्रो खेल मङ्गलवार हुनेछ । खेलअघि नेपाली टोलीका कप्तान रोहित पौडेलले यो ऐतिहासिक अवसर रहेको बताएका छन् ।

त्यस्तै वेस्ट इन्डिजका कप्तान सकिल होसेनले युनिटी कपमा नेपालसँग खेल्न पाएकोमा खुशी लागेको प्रतिक्रिया दिएका छन् । नेपालले आयोजना गरेको यो शृङ्खलाको सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०९-२७ , समय : ०९:३१:४० , १९ घन्टा अगाडि