रुपन्देहीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु,चार जना घाइते

रुपन्देही खबर , १९१  पटक हेरिएको

रुपन्देही, कार्तिक १२

रुपन्देहीको कन्चन गाउँपालिकामा गएराति भएको सवारी दुर्घटनामा तीनजनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाका अनुसार मृत्यु हुनेहरूमा सैनामैना नगरपालिका–८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र सोही स्थानका ४२ वर्षीय खेम बिक रहेका छन्। घाइते चारै जनाको बुटवल सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जानकारी डीएसपी सापकोटाले दिनुभयो।

प्रहरीका अनुसार बुटवलबाट रुद्रपुरतर्फ गइरहेको बोलेरो जिप (ग. १ ज ५४३२) कन्चन गाउँपालिका–५ फायरलाइनको भित्री सडक खण्डमा अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको थियो। ठोक्किँदा जिपको अगाडिको भाग पूर्णरूपमा क्षतिग्रस्त भएको र यात्रुहरूलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि पठाइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२५-१०-२९ , समय : १९:०९:०४ , ८ घन्टा अगाडि