भदौ २३ र २४ को घटना नेपालको राजनीतिक यात्रामाथिको ठुलो धक्का : पद्मा अर्याल

रुपन्देही खबर , ७८  पटक हेरिएको

बुटवल, कार्तिक २०

नेकपा (एमाले) की सचिव पद्मा अर्यालले भदौ २३ र २४ गते भएको राजनीतिक घटनाक्रमलाई देशको लोकतान्त्रिक अभ्यासमाथिको प्रतिगमन र प्रतिक्रान्तिको रुपमा व्याख्या गर्नु भएको छ । लुम्बिनी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाले सार्वभौम संसद् विघटन, जननिर्वाचित सरकार अपदस्थ र राज्यका अंगहरू निष्प्रभावी बनाइएको घटनालाई नेपालको राजनीतिक यात्रामाथिको ठुलो धक्का भएको बताउनु भएको छ ।

“भदौ २३ र २४ को घटना केवल राजनीतिक निर्णय थिएनन्, ती घटनाले व्यवस्थापिका र कार्यपालिका दुबैलाई खरानी बनाए,” उहाले भन्नु भयो “यो अग्रगामी होइन, पूर्णतः पश्चगामी कदम हो ।” अर्यालका अनुसार उक्त घटनाबाट मुलुकको संस्कृति, राजनीतिक मूल्य र इतिहासमाथि आक्रमण भएको छ, जसले जनताको विश्वास कमजोर बनाएको छ ।

उहाले अहिलेको आन्दोलनलाई “पछाडि फर्काउने प्रयास” को रुपमा चित्रण गर्दै त्यसलाई प्रतिक्रान्ति भन्नु भएको छ । “आजको आन्दोलनले मुलुकलाई अघि होइन, दशकौँ पछाडि फर्काउन खोजिरहेको छ,” उनले भनिन्, “त्यसैले यस अवस्थामा कार्यकर्ता बहकिनु हुँदैन, स्पष्ट राजनीतिक दृष्टिकोण आवश्यक छ ।”

अर्यालले कार्यकर्ताहरूमाझ राजनीतिक स्पष्टता र वैचारिक दृढताको आवश्यकता औंल्याउँदै भन्नु भयो, “भदौ २३ गते दिउँसो १ बजेसम्मको आन्दोलन र त्यसपछि भएका घटनालाई फरक ढंगले बुझ्नुपर्छ । त्यो मोडबाट देशले जनताको अधिकार र संवैधानिक लोकतन्त्रमा ठुलो ह्रास देखेको छ ।”

उहाले एमालेलाई लोकतन्त्र, सुशासन र विकासको जिम्मा बोकेको एकमात्र शक्तिका रूपमा परिभाषित गर्दै सुशासन कायम गर्ने एजेन्डा पार्टीको मुख्य अभियान रहेको बताउनु भएको छ । “हामीले जनतासँग गरेको वाचा सुशासन हो, जनजीविकाका मुद्दा उठाउने हाम्रो प्रतिवद्धता हो,” अर्यालले भनिन्, “एमालेले नै जनताको प्रश्नलाई संस्थागत रूपमा बोकेको छ ।”

सचिव अर्यालले पार्टीभित्र संगठनात्मक एकता र राजनीतिक सचेतनाको सुदृढीकरणमा जोड दिँदै अहिलेको राजनीतिक परिस्थितिमा भावनामा होइन, विवेक र दृष्टिकोणमा आधारित भएर अघि बढ्न आग्रह गर्नु भएको छ । बैठकमा उहाले लुम्बिनी प्रदेशका जिल्ला कमिटी, जनसंगठन र महिला नेतृहरूलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिँदै भदौ २३ र २४ को घटनाले दिएको चेतावनीलाई पार्टीले आत्मसात् गर्नुपर्ने बताउनु भएको छ । उहाका अनुसार, “देशलाई पुनः स्थायित्व र समृद्धिको बाटोमा फर्काउने जिम्मा एमालेकै काँधमा आएको छ ।”

प्रकाशित मिति: २०२५-११-०६ , समय : १९:१२:०२ , ३ घन्टा अगाडि