रुपन्देही खबर , ८२ पटक हेरिएको
भैरहवा, कार्तिक ३०
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सेवाग्राहीलाई सहज, छिटो र झन्झटमुक्त सेवा प्रदान गर्ने उद्देश्यसहित कार्यालय परिसरमै निःशुल्क पिडित निवेदन लेखिदिने सेवा सुरु गरेको छ। कार्यालयले विविध प्रकारका निवेदनका नमुनाहरू पनि क्यु–आर कोडमार्फत उपलब्ध गराउँदै “सेवाग्राहीमैत्री प्रहरी सेवा” प्रारम्भ गरेको जनाएको छ।
प्रहरीका अनुसार प्रविधिको प्रयोगमा सहज भएका नागरिकलाई लक्षित गर्दै कार्यालयको मुख्य गेटमै क्यु–आर कोड टाँस गरिएको छ, जहाँबाट सेवाग्राहीले आफ्नो आवश्यकताअनुसार निवेदनका नमुनाहरू सजिलै डाउनलोड गर्न सक्नेछन्। उपलब्ध गराइएका नमुनामा जाहेरी दरखास्त, घरेलु हिंसा, ठाडो निवेदन, दुर्घटना निवेदन, मोबाइल चोरी/हराएको निवेदन, साइबर अपराध निवेदन, खोजतलास निवेदन तथा स्थानिय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तिका–२०८० समेत समावेश गरिएको छ।
यससंगै, कार्यालयमा उपस्थित पिडित वा सेवाग्राहीलाई तत्काल सहयोग पुर्याउन निःशुल्क निवेदन लेखिदिने व्यवस्था पनि गरिएको छ, जसले विशेष गरी लेखपढमा कमजोर तथा प्रविधि प्रयोग गर्न कठिनाइ हुने नागरिकलाई सहयोग पुर्याउनेछ।
जिल्ला प्रहरी कार्यालयले यस्तो प्रणालीले सेवाग्राहीलाई प्रहरी सेवामा थप विश्वास पैदा गर्ने, पहुँच वृद्धि गर्ने र सेवा प्रवाहलाई अझै व्यवस्थित बनाउने विश्वास व्यक्त गरेको छ।
प्रकाशित मिति: २०२५-११-१६ , समय : १७:१६:५१ , ३ घन्टा अगाडि