रुपन्देहीमा कर छली गर्दै ल्याइएका अवैध सामान बरामद

रुपन्देही खबर , १२६  पटक हेरिएको

भैरहवा, मंसिर ५

रुपन्देहीमा प्रहरीले छुट्टाछुट्टै स्थानमा गरेको चेकजाँचका क्रममा करिब रु. ६ लाख २५ हजार बराबरका अवैध सामान नियन्त्रणमा लिएको छ। अवैध रूपमा भन्सार छली ल्याइएका ती सामग्रीहरू आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार मंसिर ३ गते रातिदेखि बिहानसम्म चलाइएको संयुक्त गस्ती तथा चेकजाँचको क्रममा मायादेवी गाउँपालिका–७ हात्तीबनगाई क्षेत्रमा भारतबाट ल्याई गोदाममा राखिएको अवस्थामा १०२ बोरा मैदा फेला परेको छ। बरामद मैदाको मूल्य करिब रु. २ लाख ५५ हजार रहेको प्रहरीले बताएको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–১ बेलहिया बाइपास क्षेत्रमा चेकजाँच गर्दा भारतबाट नेपाल तर्फ ल्याइँदै गरिएको कस्टमेटिक सामान १ झोला, १२५ थान LED बल्ब र ४ बोरा दैनिक उपभोग्य सामग्री बरामद गरेको छ। यी सामानहरूको अनुमानित मूल्य रु. १ लाख २५ हजार रहेको छ।

यस्तै, भैरहवा बसपार्क क्षेत्रमा प्रहरीले चेकजाँच गर्ने क्रममा अवैध कपडा लोड गरिएको लु ६९ प ५९२२ नम्बरको स्कुटरसहित चालकलाई नियन्त्रणमा लिएको छ। सिद्धार्थनगर–४ बस्ने ३४ वर्षीय अवराध हुसेनले चलाइरहेको स्कुटरबाट ३ बोरा (५०० पिस) जर्सी बरामद भएको प्रहरीले जनाएको छ। कपडाको मूल्य करिब रु. १ लाख ७५ हजार र स्कुटरको मूल्य रु. ७० हजार भएसँगै कुल रु. २ लाख ४५ हजार बराबरको सामान भन्सारमा बुझाइएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले सीमा क्षेत्रमा अवैध ढुवानी नियन्त्रणका लागि चेकजाँच थप कडाइ गरिएको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२५-११-२१ , समय : १९:२२:४७ , ६ घन्टा अगाडि