रुपन्देही खबर , २० पटक हेरिएको
तिलोत्तमा,मंसिर ५
समावेशी सोच, स्थानीय सहभागिता र महिला–अनुकूल पूर्वाधार विकासका लागि तिलोत्तमा नगरपालिकामा सम्पन्न एक औपचारिक सम्झौता गरिएको छ।फिनल्याण्ड सरकारको सहयोगमा उनोप्स का प्रतिनिधिहरु र नगरपालिकाका नगर प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बिच सम्झौता भएको हो।विश्वमा यस्तो किसिमले सम्झौता भएको पहिलोपटक हो। यसमार्फत परियोजनाको रकम सिधै नगरपालिकाको खातामा ट्रान्सफर हुन्छ।तिलोत्तमा नगरपालिकालाई महिलामैत्री, सुरक्षित र समावेशी शहरका रूपमा विकास गर्न युनोप्सको साझेदारीमा प्रारम्भ भएको तीन वर्षे परियोजना अन्तर्गत नगरको वडा नं ४ सीमानगर र वडा नं ९ मंगलापुरमा पूर्वाधार निर्माणका लागि औपचारिक सम्झौता सम्पन्न भएको हो ।‘सबैका लागि उपयुक्त शहर’ बनाउने उद्देश्यले स्थानीय समुदाय, जनप्रतिनिधि, योजना विज्ञ, महिला समूह, युवा तथा सरोकारवाला निकायहरुको सक्रिय सहभागितामा निर्माण गर्न लागिएको सार्वजनिक पूर्वाधारहरूको प्रारम्भिक डिजाइन तयार गरिएको छ ।
कार्यशालामा नगर प्रमुख रामकृष्ण खाँणले सहभागीहरूलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालिकाले केवल संरचना मात्रै बनाइरहेको नभई सहजता, समानता र समावेशिताको आधार निर्माण गरिरहेको बताउनु भयो । समावेशी योजना र स्थानीय सहभागिता नै नगर विकासको मेरुदण्ड भएको उहाँको भनाई छ । सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले तिलोत्तमा नगरपालिकालाई साँचो अर्थमा महिला मैत्री, समावेशी र सुरक्षित शहर बनाउने लक्ष्यलाई पुरा गर्ने गरि औपचारिक सम्झौता गरिएको बताउनु भयो । उहाँका अनुसार महिलाले उत्पादन गरेर बिक्री गर्न मिल्ने खाद्य सामग्री तथा अन्य सामग्रीका स्टल समेत निर्माण गर्ने बताउनु भयो ।
कार्यक्रमममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले प्राविधिक, जलवायु र स्थानगत पक्षलाई ध्यानमा राखेर पूर्वाधार बनाइने र परियोजनामा नगरपालिकाको ३० प्रतिशत लगानी हुने जानकारी दिनुभयो । सह–डिजाईन अभ्यासबाट संकलित विचार र डिजाइन अवधारणाहरूलाई परिमार्जन, परीक्षण र पुनरावलोकन गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको युनोप्सका आर्किटेक्ट मनीषा कार्कीले जानकारी दिनुभयो । उहाँले यस कार्यक्रम मार्फत तिलोत्तमा नगरलाई महिला, बालबालिका, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायत सबैका लागि सुरक्षित, समावेशी र समर्पित शहर बनाउने लक्ष्य लिएको बताउनु भयो ।परियोजनाका लागि तीन वर्षे कार्यान्वयन अवधि तोकिएको छ। पहिलो चरण सफल भएमा अन्य वडाहरूमा समेत परियोजना विस्तार गरिने युनोप्स र नगरपालिकाले जनाएको छ । यस किसिमको सहभागी र बहस–आधारित योजना प्रक्रियाले दिगो, समान र अधिकारमैत्री नगर विकासतर्फको यात्रालाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २०२५-११-२१ , समय : २०:४२:११ , ५ घन्टा अगाडि