रुपन्देही खबर , ९९ पटक हेरिएको
भैरहवा, मंसिर ९
लुम्बिनी साँस्कृतिक नगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणका लागि आवश्यक जग्गा उपयोगको प्रमाणपत्र औपचारिक रूपमा प्राप्त गरेको छ । यस उपलब्धिसँगै नगरपालिकाले अब प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
मालपोत कार्यालय भैरहवा, रुपन्देहीका प्रमुख मालपोत अधिकृत मनोज कुमार शैनीले उक्त प्रमाणपत्र लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीलाई हस्तान्तरण गर्नुभएको थियो। प्राप्त प्रमाणपत्रलाई प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले कार्यवाहक नगर प्रमुख कल्पना हरिजनलाई प्रदान गर्नुभएको हो।
नगरपालिकाले यो महत्वपूर्ण प्रक्रियामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
जग्गाको विवरण
स्थान: लुम्बिनी साँस्कृतिक नगरपालिका–३
(साविक लुम्बिनी आदर्श गा.वि.स.–५, लन्कापुर र ठूलो पडरिया बीच, तेलार नदी किनार)
जग्गा क्षेत्रफल: ३–१०–११ (तीन विघा, दश कठ्ठा, ११ धुर)
मन्त्रीपरिषद्को निर्णयअनुसार प्रशासनिक भवन निर्माणका लागि तोकिएको यो जग्गा औपचारिक रूपमा नगरपालिकाको नाममा व्यवस्थापन भएपछि लुम्बिनी साँस्कृतिक नगरपालिकाले संस्थागत पूर्वाधार विकासको दिशामा महत्वपूर्ण कदम वढाएको छ।
प्रकाशित मिति: २०२५-११-२५ , समय : १४:१९:५५ , २ घन्टा अगाडि