रोहिणीमा जसपा नेपालद्वारा विरोध प्रदर्शन

रुपन्देही खबर , ८६  पटक हेरिएको

भैरहवा, मंसिर १२

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना २८ बुँदे मागसहित सुरु गरेको देशव्यापी आन्दोलनको क्रमअन्तर्गत रोहिणी गाउँपालिकामा विरोध कार्यक्रम सम्पन्न भएको छ। जसपा नेपाल रोहिणी गाउँपालिका समितिको आयोजनामा रोहिणी–३ स्थित धकधई चोकमा बिहीबार विरोध प्रदर्शन गरिएको हो।

कार्यक्रमबारे जानकारी दिंदै जसपा नेपाल रोहिणी गाउँपालिकाका अध्यक्ष घनश्याम सिंह क्षेत्रीले पार्टीले घोषणा गरेको आन्दोलनअनुसार स्थानीय तहदेखि केन्द्रसम्म दबाब सृजना गर्न विरोध कार्यक्रम अघि बढाइएको बताउनुभयो।

विरोधसभामा सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य कैलाश गुरुङले जसपाले राखेका माग छिटो सम्बोधन नभए लाखौं जनता सडकमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो।

केन्द्रीय सदस्य रीता यादवले सबै जातजाति तथा समुदायको हकअधिकारका लागि निरन्तर लड्ने पार्टी जसपा नेपाल भएकाले सुरु भएको आन्दोलनमा व्यापक सहभागिता आवश्यक रहेको बताउनुभयो।

केन्द्रीय सदस्य निलम यादवले संविधान २०७२ त्रुटिपूर्ण रहेको दाबी गर्दै संविधान संशोधन वा पुनर्लेखन अपरिहार्य भएको धारणा राख्नुभयो। जसपा नेपालका केन्द्रीय सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र स्थानीय तह पुनः निर्धारण हुनुपर्ने माग दोहोर्याउनुभयो। पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादवले जेनजी (युवा) पुस्ताले उठाएको मुद्दा जायज रहेको र जसपा नेपालले ती मागको पक्षमा दृढ साथ रहने बताउनुभयो। कार्यक्रम जसपा नेपाल रुपन्देहीका जिल्ला उपाध्यक्ष कलामुद्दीन खाँको सञ्चालनमा सम्पन्न भएको थियो।

जसपा नेपालले संविधान संशोधन, प्रदेशलाई अधिकारसम्पन्न बनाउने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने, युवा पुस्ताद्वारा उठाइएका माग सम्बोधन गर्ने, विगतका आन्दोलनका छानबिन आयोगका प्रतिवेदन सार्वजनिक गर्ने, किसानलाई सहुलियतपूर्ण कृषि ऋण उपलब्ध गराउने, मल–बिउ, किटनाशक तथा कृषि सिंचाइको व्यवस्था सुनिश्चित गर्नेलगायतका २८ बुँदे माग राख्दै देशभर आन्दोलन गरिरहेको छ। बुधबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई मागसम्बन्धी ज्ञापनपत्र बुझाइएको थियो।

प्रकाशित मिति: २०२५-११-२८ , समय : १४:३०:०० , ५ घन्टा अगाडि