रुपन्देही खबर , १४११ पटक हेरिएको
भैरहवा, मंसिर २४
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ ले उम्मेद्वार चयन प्रक्रिया सर्वसम्मत रूपमा टुंगो लगाएको छ । नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फका लागि छ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस सूचीमा बालकृष्ण खाण, सुशील गुरुङ्ग, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्द बहादुर खत्री रहनु भएको छ ।

त्यस्तै, प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ अल्पसंख्यक समूहबाट जन्नतुन निशा धुनिया, थारु समुदायबाट पुष्पा थरुनी तथा महिला कोटाबाट माधवी शर्मा चयन हुनु भएको छ ।
यसैगरी, राष्ट्रिय सभा सदस्य पदका लागि खस–आर्य समूहबाट सोमनाथ शर्मा र भिमप्रसाद न्यौपाने, अपाङ्गता भएका व्यक्तिको कोटाबाट मिननाथ शर्मा तथा अल्पसंख्यक समूहबाट मोहन सरदारको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको छ।
बैठकमा आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन मजबुत बनाउने तथा निर्वाचनमा कांग्रेसलाई विजयी गराउने विषयमा छलफल गरिएको थियो। पार्टी नेतृत्वले उम्मेद्वार छनोट प्रक्रिया समावेशी, लोकतान्त्रिक र सहमतिमै आधारित रहेको जनाएको छ ।
प्रकाशित मिति: २०२५-१२-१० , समय : १०:०७:०३ , २ दिन अगाडि