रुपन्देही खबर , ४३५ पटक हेरिएको
भैरहवा, मंसिर २८
रोहिणी गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहबाट प्रवाह हुँदै आएका सेवा–सुविधा, विकास निर्माण, सुशासन तथा योजना कार्यान्वयनका विषयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

सार्वजनिक सुनुवाइका क्रममा स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, सडक तथा भौतिक पूर्वाधार, खानेपानी, सरसफाइ, सामाजिक सुरक्षा भत्ता, कृषि सेवा, फोहोर व्यवस्थापन तथा सेवा प्रवाहमा देखिएका समस्या र कमजोरीहरू खुला रूपमा प्रस्तुत गरेका थिए। । उठेका गुनासो र सुझावहरूप्रति जनप्रतिनिधि तथा सम्बन्धित शाखाका कर्मचारीहरूले कार्यक्रमस्थलमै स्पष्ट जवाफ दिँदै सम्भाव्य समाधानका उपायहरू सार्वजनिक गरेका थिए ।


यस्तै गरी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले नागरिकबाट उठेका गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै सार्वजनिक सुनुवाइले स्थानीय सरकारलाई अझ जिम्मेवार र जवाफदेही बनाउने बताउनुभयो। उहाँले सीमित स्रोतसाधनका बाबजुद पनि जनताको अपेक्षा अनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाइने र विकास निर्माणका काममा पारदर्शिता कायम गरिने बताउनु भएको छ ।

यस्तै गरी प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले कानुनी प्रक्रिया, नीति तथा मापदण्डभित्र रहेर छिटोछरितो सेवा दिन गाउँपालिका निरन्तर प्रयासरत रहेको बताउनु भएको छ । उहाँले सेवाग्राहीमैत्री प्रशासन, सुशासन र वित्तीय अनुशासन गाउँपालिकाको प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्नुभयो।

यस्तै गरी वडा नम्बर ३ का वडाध्यक्ष वीर बहादुर क्षेत्रीले आफ्नो वडामा देखिएका समस्या समाधानका लागि स्थानीयवासीसँग समन्वय गर्दै काम भइरहेको जानकारी गराउँदै सुझावहरू योजना तथा बजेटमा समेटिएको बताउनुभयो ।

यस्तै गरी वडा नम्बर ६ का वडाध्यक्ष इन्द्रमान चौधरीले वडास्तरका गुनासोहरूलाई गाउँपालिका तहमा प्रभावकारी रूपमा उठाइ समाधानको प्रक्रियामा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा सहभागी नागरिकहरूले जनप्रतिनिधि र कर्मचारीबाट प्रत्यक्ष रूपमा गुनासो सुन्ने र जवाफ पाउने अवसर पाएकोमा सन्तुष्टि व्यक्त गरेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय सरकार र नागरिकबीच आपसी विश्वास, पारदर्शिता र सहकार्यलाई थप सुदृढ बनाएको सहभागीहरूको निष्कर्ष रहेको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत, वडा नम्बर ३ का वडाध्यक्ष वीर बहादुर क्षेत्री, वडा नम्बर ६ का वडाध्यक्ष इन्द्रमान चौधरी लगायत जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-१२-१४ , समय : २१:२७:२६ , २ महिना अगाडि