ओमसतियाको आ.ब.२०८२/०८३ को हिउँदे अधिवेशन सम्पन्न

सीमित स्रोतबीच जनमुखी विकासमा जोड

रुपन्देही खबर , ११९  पटक हेरिएको

भैरहवा, पुस १९

रुपन्देहीको ओमसतिया गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को हिउँदे अधिवेशन अन्तर्गत १८ औँ गाउँसभाको प्रथम बैठक सम्पन्न भएको छ।

गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव ‘सोनु’को अध्यक्षतामा शुक्रवार सम्पन्न बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत बजेट तथा कार्यक्रमको समीक्षा गर्दै संशोधित योजना तथा कार्यक्रमहरू पेश गरिएका छन्।

सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सीमित स्रोत–साधन र विविध चुनौतीका बाबजुद पनि ओमसतिया गाउँपालिकाले सुशासन, पारदर्शिता र जनमुखी विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । उहाले जनताले महसुस गर्ने खालका विकासका कामलाई प्राथमिकता दिएको बताउदै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र सामाजिक सुरक्षाका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पालिकालाई समुन्नत र आत्मनिर्भर बनाउने लक्ष्य लिएको जोड दिनु भयो। अध्यक्ष यादवले बजेट कार्यान्वयनका क्रममा देखिएका समस्या र प्राकृतिक तथा आकस्मिक घटनाका कारण केही विकास निर्माणका काम ढिलो भएको स्वीकार गर्दै, आगामी दिनमा योजना कार्यान्वयनलाई तीव्र बनाइने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

यस्तै गरि गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले सभा सम्बोधन गर्दै चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, विकास निर्माणका प्राथमिकता र नागरिक केन्द्रित सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा जोड दिनुभएको छ । उहाँले सीमित स्रोत–साधनका बाबजुद शिक्षा,स्वास्थ्य,पूर्वाधार र सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभएको छ । उपाध्यक्ष चौधरीले सुशासन, पारदर्शिता र जवाफदेहिता गाउँपालिकाको मूल आधार भएको उल्लेख गर्दै गाउँसभा सदस्य, कर्मचारी र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको थियो साथै,संशोधित योजना तथा कार्यक्रमहरू जनताको आवश्यकता र दीर्घकालीन विकासलाई केन्द्रमा राखेर अघि बढाइने विश्वास व्यक्त गर्नुभएको छ ।

उपाध्यक्ष चौधरीका अनुसार चालु आर्थिक वर्षको पौष १५ गतेसम्म संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदानतर्फ ११ करोड ६६ लाख अनुमान गरिएकोमा ५ करोड ८३ लाख रुपैयाँ मात्र प्राप्त भएको छ। समपूरक अनुदानतर्फ ४० लाख तथा सशर्त आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि १६ करोड ५ लाख अनुमान गरिएकोमा १० करोड २२ लाख २८ हजार रुपैयाँ मात्र प्राप्त भएको उहाँले जानकारी गराउनुभयो।

यसैगरी प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानीकरण अनुदानतर्फ ८० लाख ७३ हजार अनुमान गरिएकोमा ४० लाख ३६ हजार ५ सय रुपैयाँ मात्र प्राप्त भएको, सशर्त अनुदानतर्फ १ करोड ५५ लाख अनुमान गरिएकोमा ५१ लाख १५ हजार रुपैयाँ र समपूरक अनुदानतर्फ ७५ लाख अनुमान गरिएकोमा २४ लाख ७५ हजार रुपैयाँ मात्र प्राप्त भएको उपाध्यक्ष चौधरीले स्पष्ट पार्नुभयो।

बाडफाँडबाट प्राप्त राजश्वतर्फ संघीय सरकारबाट ९ करोड ४८ लाख ६४ हजार अनुमान गरिएकोमा ३ करोड ३१ लाख ९७ हजार रुपैयाँ मात्र, प्रदेश सरकारबाट ८७ लाख ७७ हजार अनुमान गरिएकोमा २३ लाख रुपैयाँ मात्र र मालपोत बाँडफाँडबाट २ करोड ११ लाख अनुमान गरिएकोमा ४९ लाख ३४ हजार रुपैयाँ मात्र प्राप्त भएको विवरण उहाँले प्रस्तुत गर्नुभयो।

गाउँपालिकाको आन्तरिक स्रोततर्फ ३ करोड ८७ लाख रुपैयाँ अनुमान गरिएकोमा २०८२ पौष १५ गतेसम्म १ करोड ३७ लाख २० हजार रुपैयाँ मात्र संकलन भएको जानकारी दिँदै उपाध्यक्ष चौधरीले अपेक्षाअनुसार राजश्व संकलन हुन नसक्दा विकास योजनाको कार्यान्वयनमा चुनौती थपिएको बताउनु भएको छ ।

उहाँले खर्चको अवस्थाबारे जानकारी दिँदै चालु आर्थिक वर्षमा चालु खर्च शीर्षकमा ३३ करोड ८ लाख ३४ हजार रुपैयाँ विनियोजन भएकोमा पौष १५ गतेसम्म १० करोड १५ लाख १ हजार रुपैयाँ अर्थात ३०.६८ प्रतिशत खर्च भएको र पूँजीगत खर्च शीर्षकमा १७ करोड १२ लाख ८० हजार रुपैयाँ विनियोजन भएकोमा २ करोड ३८ लाख ६५ हजार रुपैयाँ अर्थात १३.९३ प्रतिशत मात्र खर्च भई कुल खर्च १२ करोड ५३ लाख ६७ हजार रुपैयाँ अर्थात २४.९६ प्रतिशत रहेको विषयमा सभाको ध्यानाकर्षण गराउनुभयो।

१८औँ गाउँसभाको प्रथम बैठकले आर्थिक वर्ष २०८२/०८३ का संशोधित योजना तथा कार्यक्रमलाई अघि बढाउने दिशामा महत्वपूर्ण आधार तय गरेको विश्वास लिइएको छ।
बैठकमा गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरी, गाउँसभा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थी,कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२६-०१-०३ , समय : १६:१९:२० , २३ घन्टा अगाडि