किवानिज क्लब रुपन्देहीद्वारा जनता मा बि का विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

रुपन्देही खबर , १२५  पटक हेरिएको

तिलोत्तमा,पुस २०

सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि काम गर्दै आईरहेको किवानिज क्लब रुपन्देही लुम्बिनीले नयाँ वर्ष २०२६ को अवसरमा तिलोत्तमा–१३ तीनधुरा स्थित जनता माध्यमिक विद्यालयमा अध्यनरत विपन्न तथा गरिब विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ।

विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा बिपन्न वर्गका विद्यार्थीहरूको पठन–पाठनमा सहयोग पुर्‍याउने उद्देश्यले क्लवले कापी-कलम, खेलकुद सामग्री लगायतका शैक्षिक सामग्री तथा आवश्यक न्यानो कपडाहरू वितरण गरेको किवानिज क्लव रुपन्देही लुम्बिनीका अध्यक्ष गोविन्द प्रसाद भुसालले बताउनु भयो ।

बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्दै कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नं. १३ का वडाध्यक्ष नारायण ढकालले सामाजिक सेवा र बालबालिकाको भविष्य निर्माणमा किवानिज क्लवले गर्दै आएको योगदानको प्रशंसा गर्नुभयो । उहाले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई उत्साह र प्रेरणा दिने बताउदै चिसो मौसममा जुत्ता नभएकै कारण विद्यालयको पठन पाठनबाट बन्चित भएका बिद्यार्थीहरुलाई थप जुत्ता वितरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
किवानिज डिस्ट्रिक (नेपाल) का प्रमुख सल्लाहकार शिव बहादुर काफ्लेले क्लबले “किवानिज चिल्ड्रेन फण्ड” कोषको निर्माण गरेको र बालबालिकाको समग्र विकासको क्षेत्रमा काम गर्न चाहने संस्था वा विद्यालयले कोषका निम्ति निबेदन दिए अवश्यक रकम उपलब्ध गराउने जानकारी दिनुभयो।

क्लवका अध्यक्ष गोबिन्द भुसालले किवानिज इन्टरनेशनलको मूल आदर्श “विश्वका बालबालिकाको सेवा” लाई आत्मसात गर्दै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा बालबालिका केन्द्रित कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शैक्षिक सामाग्री बितरण कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य, बिद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी तथा स्थानीय समुदायको सहभागिता रहेको थियो। किवानिज क्लबले सामुदायिक बिद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक, खेलकुद तथा न्यानो कपडा लगायतका सामाग्री बितरण गर्नुका साथै असहाय बालबालिकाहरुलाई पनि आर्थिक एवम भौतिक सहयोग गर्ने गरेको क्लवका कोषाध्यक्ष रुस्तम कडेलले जानकारी गराउनु भयो ।

प्रकाशित मिति: २०२६-०१-०४ , समय : १८:२४:०८ , २२ घन्टा अगाडि