रुपन्देही खबर , १२८ पटक हेरिएको
लुम्बिनी, पुस २२
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नंम्बर २ मा आज एक कार्यक्रमका बिच ८० प्रतिशत अनुदानमा कृषकहरूलाई स्प्रे ट्याङ्की वितरण गरिएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नंम्बर २ का वडाअध्यक्ष ईनामुल्लाह फकीरको अध्यक्षता तथा नगरपालिकाको कार्यवाहक नगर प्रमुख कल्पना हरिजनको प्रमुख आतिथ्यतामा एक सय ३१ जना कृषकहरुलाई ट्याङ्की वितरण गरिएको हो । कार्यक्रमकमा बोल्दै प्रमुख अतिथि हरिजनले स्थानीय सरकार कृषकसँगै रहेको बताउनुभएको छ ।

उहाँले “कृषिमा आत्मनिर्भर बन्न आधुनिक उपकरण र प्रविधिको प्रयोग अनिवार्य भएको बताउदै नगरपालिकाले कृषकको क्षमता अभिवृद्धि र उत्पादन वृद्धि गर्न अनुदानका कार्यक्रमलाई प्राथमिकतामा राखेको जोड दिनु भयो । उहाले कृषकको जीवनस्तर सुधार नै नगरपालिकाको मुख्य लक्ष्य भएको समेत उल्लेख गर्नु भएको थियो ।

यस्तै गरी स्प्रे ट्याङ्की वितरण गर्दै वडा अध्यक्ष ईनामुल्लाह फकीरले कृषक नै वडाको आर्थिक मेरुदण्ड भएको बताउनु भएको छ । उहाले “कृषकलाई आधुनिक कृषि उपकरणमा पहुँच नहुँदा उत्पादन लागत बढ्ने र आम्दानी घट्ने समस्या देखिएकोले त्यसलाई मध्यनजर गर्दै वडा कार्यालयले ८० प्रतिशत अनुदानमा स्प्रे ट्याङ्की वितरण गरेको जानकारी दिनु भयो । उहाले आगामी दिनमा पनि कृषकको हितलाई केन्द्रमा राखेर यस्ता कार्यक्रम निरन्तर अघि बढाइने प्रतिबद्धता समेत गर्नु भएको छ ।
कृषकहरूले अनुदान कार्यक्रमले खेतीपातीमा सहजता आएको भन्दै स्थानीय सरकारप्रति आभार व्यक्त गरेका छन्। कार्यक्रममा वडा सदस्यहरू, कर्मचारीहरू तथा वडाका कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२६-०१-०६ , समय : १८:४३:१४ , १ दिन अगाडि