रुपन्देही खबर , १८१ पटक हेरिएको
भैरहवा, पुस २४
जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश समितिले रुपन्देहीको धकधइमा बिशाल जनप्रदर्शन तथा बिरोध सभा सम्पन्न गरेको छ । जसपा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामअवतार यादवको अध्यक्षता तथा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा बुधबार धकधईमा बिशाल जनप्रदर्शन तथा बिरोध सभा सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गर्दै जसपाका राष्ट्रिय अध्यक्ष यादवले देश अहिले राजनीतिक अस्थिरता, बढ्दो भ्रष्टाचार, बेरोजगारी र महँगीको गम्भीर संकटमा फसेको बताउनुभएको छ । उहाँले सत्ता चलाइरहेका कांग्रेस–कम्युनिष्ट दलहरू जनताको भरोसा गुमाइसकेको दाबी समेत गर्नुभयो । उहाले भन्नु भयो,“आफूलाई ठूला दल भन्ने कांग्रेस र कम्युनिष्ट आज पनि जनताको मत सामना गर्न एक्लै चुनावमा जान डराइरहेका छन् । ३५ वर्ष सत्ता चलाउँदा के उपलब्धि भयो भन्ने प्रश्नको उत्तर दिन नसक्ने भएकै कारण उनीहरू गठबन्धनको आडमा सत्ता जोगाउन खोजिरहेका अध्यक्ष यादवले आरोप लगाउनु भयो ।
उहाँले मुलुकमा सुशासनको अभाव, आर्थिक मन्दी र अवसरको कमीले गर्दा लाखौँ युवा विदेश पलायन हुन बाध्य भएको जिकीर गर्नुभयो । “देशमै रोजगारी सिर्जना गर्न नसक्दा ८० लाखभन्दा बढी युवा विदेशी भूमिमा पसिना बगाउन बाध्य छन्,” उहाँको भनाइ छ ।
अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार शासन प्रणाली सञ्चालन हुन नसकेको बताउँदै भ्रष्टाचारले राज्यका सबै संयन्त्र कब्जा गरेको आरोप लगाउनुभएको छ । संवैधानिक निकायदेखि प्रशासनसम्म राजनीतिक भागबण्डा र आर्थिक लेनदेन हावी भएको उहाँको आरोप थियो ।
“अहिलेको संसदीय प्रणाली जनताको अपेक्षा पूरा गर्न असफल भइसकेको छ । अब देशलाई स्थायित्व दिन जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था आवश्यक छ,” उहाँले भन्नुभयो ।
उहाँले हालको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र असमान भएकाले समानुपातिक तथा खर्चरहित निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड दिनुभयो । साथै संघीयतालाई बलियो बनाउन प्रदेश र स्थानीय तहलाई अधिकार, स्रोत र स्वायत्तता दिन जरुरी रहेको उहाँको धारणा थियो ।

यस्तै गरी जसपा नेपालका केन्द्रीय सचिव कमरुद्दीन राईले जनताको अधिकार सुनिश्चित गर्न जसपा नेपाललाई नै जिताउनुपर्नेमा जोड दिनुभएको छ ।

यस्तै गरी जसपा नेपालका केन्द्रिय सदस्य कैलाश गुरुङले बोल्दै तराई–मधेशमा मात्र नभई हिमाल र पहाडमा समेत उम्मेदवार उठाएर जसपा नेपाल अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पार्टीले २२ जिल्लामा सीमित राजनीति नगरी हिमाल, पहाड र तराईलाई जोडेर अघि बढेको उहाँको भनाइ छ ।

यस्तै गरी जसपा नेपालका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री रामबचन यादवले वर्तमान व्यवस्थामा शासक वर्ग हाबी भएको आरोप लगाउँदै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिको व्यवस्था आफ्नो पार्टीको माग रहेको बताउनुभयो । उक्त माग पूरा नभए पुनः आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको छ ।

यस्तै गरी जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले जसपा नेपाल स्वभिमानको लडाई लडेको बताउदै अरु जस्तो पद या पैसा , प्रधानमन्त्री लगायत दुनियादारी बनाउनका लागी नभएको बताउनु भएको छ । उहाले जसपाले नेपाल भित्र आफनो अधिकार स्थापित गर्नका लागी यो लडाई लडेको बताउनु भएको छ । उहाले आउने निर्वाचनमा छाता चुनाव चिन्हमा मतदान गर्न समेत आग्रह गर्नु भएको छ ।
कार्यक्रममा पार्टीका विद्या प्रसाद यादव, भगवती सुवेदी, अब्दुल रसिद खान, मुन्नालाल गुप्ता, लुम्बिनी प्रदेश सभा सदस्य तथा केन्द्रीय सदस्य अम्बिका काफ्ले, प्रदेश उपाध्यक्ष मोहम्मद असलम खान, कोषाध्यक्ष बच्चुलाल केवट, थरुहट तराई लुम्बिनी प्रदेश अध्यक्ष सुमित्रा कुर्मी, पार्टीको रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, कपिलवस्तुका अध्यक्ष शैलेन्द्र यादव, पश्चिम नवलपरासीका अध्यक्ष धरेन्द्र यादव, समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राहुल यादव लगायतले बोल्दै मुलुकको विकास जसपा नेपालको नेतृत्वमा मात्रै हुन सक्ने दावी गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२६-०१-०८ , समय : ११:००:०५ , १ दिन अगाडि