पूर्व वडा अध्यक्ष यादवद्वारा जेहेन्दार विद्यार्थीलाई सहयोग

रुपन्देही खबर , १५५  पटक हेरिएको

मर्चवार,पुस २५

रुपन्देहीको मर्चवार क्षेत्र अन्तर्गत समरीमाई गाउँपालिका वडा नम्बर ५ थुम्हवाका एक विपन्न तथा जेहेन्दार विद्यार्थीलाई चिकित्सक बन्ने सपना पूरा गर्न आर्थिक सहयोग प्राप्त भएको छ। आर्थिक अवस्था अत्यन्तै कमजोर भएकै कारण चिकित्सा शिक्षा (MBBS) अध्ययनमा कठिनाइ भोगिरहेका विद्यार्थी रामचन्द्र मल्लाहलाई मायादेवी गाउँपालिका–६ का पूर्व वडा अध्यक्ष राजेन्द्र यादवले व्यक्तिगत रूपमा ११ हजार रुपैयाँ सहयोग गर्नुभएको हो।

पूर्व वडा अध्यक्ष यादवले आर्थिक अभावका कारण प्रतिभावान विद्यार्थीको भविष्य अन्धकारमा नपरोस् भन्ने उद्देश्यले सहयोग गरेको बताउँदै शिक्षा नै समाज परिवर्तनको मूल आधार भएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि सम्भव भएसम्म यस्ता जेहेन्दार तथा विपन्न विद्यार्थीलाई सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहयोग प्राप्त गरेपछि विद्यार्थी मल्लाहले आफ्नो पढाइ निरन्तरता दिन सहयोग पुगेको भन्दै सहयोगीप्रति आभार व्यक्त गर्नुभयो। स्थानीयवासीहरूले समेत पूर्व वडा अध्यक्ष यादवको यो कदम प्रशंसनीय रहेको बताएका छन्।

प्रकाशित मिति: २०२६-०१-०९ , समय : ०७:४३:२३ , १७ घन्टा अगाडि