भैरहवामा सुजुकीको अत्याधुनिक ‘एसयूभी भिक्टोरस ’ सार्वजनिक

उच्च प्रविधि, लक्जरी सुविधा र आकर्षक लञ्च अफरसहित बिक्री सुरु

रुपन्देही खबर , ११२  पटक हेरिएको

भैरहवा, पुस २६

नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटर कर्पले अत्याधुनिक फिचरले भरिएको नयाँ ब्राण्डको ‘एसयूभी भिक्टोरस ’ सार्वजनिक गरेको छ । यससँगै रुपन्देहीको भैरहवाबाट उक्त गाडीको औपचारिक बिक्री सुरु भएको छ ।

भैरहवा क्षेत्रका लागि सुजुकीको आधिकारिक विक्रेता पाठक मोटर ग्रुप प्रा.लि. ले बिहीबार विशेष कार्यक्रमका बीच गाडी लञ्च गरेको हो । कार्यक्रममा पाठक मोटर्सका निर्देशक बाबुराम पाठक, लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष कमल रायमाझी, सीजी मोटर कर्पका डिलर इञ्चार्ज आदर्श भण्डारी र अजय तिमिल्सिना ले संयुक्त रूपमा नयाँ एसयूभी सार्वजनिक गर्नुभएको हो ।

लञ्चिङ अफर अन्तर्गत ५० लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको एसयूभी भिक्टोरियाजमा २ लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो विशेष अफर पहिलो ५० गाडी बुकिङ का लागि मात्र सीमित रहनेछ ।

सीजी मोटर कर्पका डिलर इञ्चार्ज आदर्श भण्डारीका अनुसार भिक्टोरियाज सुरक्षा, सुविधा र प्रविधिको दृष्टिले सुजुकीकै उत्कृष्ट एसयूभी हो । “यो गाडीले अगाडिको सवारीको गतिअनुसार आफैँ स्पिड नियन्त्रण गर्छ । अगाडिको गाडी रोकिँदा यो पनि स्वतः रोकिन्छ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार २१ किलोमिटरभन्दा बढी माइलेज दिने यो गाडी ओरालो सडकमा आफैँ ब्रेक समात्ने क्षमतायुक्त छ, जसले चालकलाई थप सहज बनाउँछ । गाडीभित्र शुद्ध हावा प्रवाह गर्ने प्रणाली, पार्किङपछि पनि केही समय बत्ती बलिरहने सुविधा जस्ता स्मार्ट फिचरले यसलाई अझ विशेष बनाएको छ ।

कम्पनीका अनुसार भिक्टोरियाजमा स्ट्रोङ हाइब्रिड तथा १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इञ्जिन का विकल्प उपलब्ध छन् । गाडी म्यानुअल र अटोमेटिक दुवै भेरियन्टमा बजारमा ल्याइएको छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले नयाँ एसयूभीले ग्राहकको मन जित्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिस्पर्धात्मक बजारका बाबजुद सुजुकीको ब्राण्डप्रतिको भरोसा यथावत् रहेको र भैरहवामा पनि पाठक मोटर्सले त्यसलाई मजबुत बनाएको उहाँको भनाइ थियो ।

पाठक मोटर्स प्रा.लिका निर्देशक बाबुराम पाठकले भिक्टोरियाजलाई आधुनिक प्रविधि, उच्च सुरक्षा र आरामदायी यात्राको खोजीमा रहेका ग्राहकका लागि उपयुक्त विकल्पको रूपमा प्रस्तुत गरिएको बताउनुभयो । “विभिन्न सेगमेन्टका ग्राहकलाई लक्षित गर्दै यो गाडी नेपाली बजारमा ल्याएका हौँ,” उहाँले भन्नुभयो ।

एसयूभी भिक्टोरियाजमा ६ वटा एयरब्याग, स्वचालित इमर्जेन्सी ब्रेक, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट, ११ भ्यु एङ्गलको हाई–डेफिनिसन क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, सबै पाङ्ग्रामा डिस्क ब्रेक, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल होल्ड कन्ट्रोल र रिभर्स पार्किङ सेन्सर जस्ता अत्याधुनिक सुरक्षा तथा सुविधा समावेश छन् ।

लञ्चिङ कार्यक्रममा सीजी मोटर कर्पका अजय तिमिल्सिना, पाठक मोटर्स ग्रुप भैरहवाका प्रबन्धक सर्जुना थैव, एनएमबी बैंक बुटवल शाखाका अमृत थापा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२६-०१-१० , समय : १०:००:०८ , १८ घन्टा अगाडि