रुपन्देही खबर , १२६ पटक हेरिएको
मर्चवार, पुस २६
रुपन्देहीको कोटहीमाई गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा विकास निर्माण, सामाजिक सेवा र सुशासनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै उदाहरणीय कार्यसम्पादन प्रस्तुत गरेको छ। पालिकाले तय गरेका कुल ३ सय ७० योजनामध्ये ३ सय ५५ वटा सफलतापूर्वक सम्पन्न गर्दै विकासप्रतिको प्रतिबद्धता र प्रशासनिक सक्रियता स्पष्ट पारेको छ।
भौतिक पूर्वाधारतर्फ पालिकाले विशेष फड्को मारेको छ। १४.२ किलोमिटर ग्राभेल सडक, ३.९५ किलोमिटर पीसीसी सडक र २.४५ किलोमिटर नाली निर्माण भई यातायात र बस्ती व्यवस्थापनमा सुधार आएको छ। खानेपानी तथा सिँचाइका लागि २ सय २४ बोरिङ र २ सय ६० ह्याण्डपम्प जडान गरिनुका साथै ३७ विद्यालय र १७ मठमन्दिरको मर्मतसम्भार सम्पन्न गरिएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि पालिकाको उपस्थिति प्रभावकारी देखिएको छ। १४ सामुदायिक र १३ निजी विद्यालयमार्फत १ सय ५६ शिक्षक–कर्मचारीले शैक्षिक सेवा दिइरहेका छन्। स्वास्थ्य सेवामा ४४ हजार ६ सय ३२ जनाले उपचार पाएका छन् भने १० हजार ७ सय ४० जनाले आयुर्वेद उपचार प्राप्त गरेका छन्। प्रसूति केन्द्र, गाउँघर क्लिनिक र खोप केन्द्रमार्फत घरदैलोमै स्वास्थ्य सेवा पु¥याइएको छ।
रोजगार प्रवर्द्धनतर्फ रोजगार सेवा केन्द्रमार्फत ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने ६५ जनालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श तथा सहयोग उपलब्ध गराइएको छ। सामाजिक सुरक्षातर्फ ३ हजार ९ सय ४७ जनालाई भत्ता वितरण गरिएको छ र ३९ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र प्रदान गरिएको छ।
कृषि र पशुपालनलाई प्राथमिकतामा राख्दै १३ हजार २ सय ७२ किसान परिवारलाई अनुदान तथा सामग्री वितरण गरिएको छ भने ६ हजार ५ सय ५५ पशुचौपायाको उपचार र खोप व्यवस्थापन गरिएको छ। नापी शाखामार्फत जग्गा विवाद समाधान र सूचना प्रविधि शाखामार्फत सुशासनका कामलाई तीव्रता दिइएको छ।
आर्थिक व्यवस्थापनतर्फ पालिकाले ६८ लाख ४० हजार २ सय ४८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कुल स्वीकृत बजेटमध्ये ४१ करोड २५ लाख ३५ हजार ९ सय २१ रुपैयाँ प्राप्त भई चालु तथा पुँजीगत शीर्षकमा उल्लेख्य खर्च भएको छ। वडागत बजेट खर्च ८४ देखि ९६ प्रतिशतसम्म रहेको छ।
दुईतले आफ्नै प्रशासनिक भवनबाट ८९ कर्मचारीमार्फत सेवा प्रवाह गरिरहेको कोटहीमाई गाउँपालिकाले समग्र विकास, सेवा प्रवाह र सुशासनको सकारात्मक खाका प्रस्तुत गरेको छ।
प्रकाशित मिति: २०२६-०१-१० , समय : ०९:४९:२४ , १८ घन्टा अगाडि